प्रहार समाचार । काठमाडौ, २१ पुस २०८२ सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले टि–२० विश्व कपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यसले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको स्पष्ट सन्देश विश्वभर फैलाएको बताएका छन् ।


राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विश्व कप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको उल्लेख गरे । उनले क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाको उज्ज्वल भविष्य निर्माण हुने आधार बलियो बन्दै गएको धारणा व्यक्त गरे ।
राष्ट्रपति पौडेलले आवश्यक खेल संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत रहेको उल्लेख गरे । राष्ट्रपतिले खेललाई मनोरञ्जनको माध्यम मात्र नभई सम्भावनायुक्त करियरका रूपमा अघि बढाउन मद्दत गर्ने विश्वास समेत व्यक्त गरे ।
नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र आम नागरिकमा उत्साह तथा आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति धन्यवाद ज्ञापन गरे । उनले नेपालको क्रिकेटले अझ उच्च उपलब्धि हासिल गरोस् र नेपाली खेलाडीले विश्वमञ्चमा देशको गौरव झनै उचो बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
त्यसैगरी राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुने टि–२० विश्व कपमा सहभागी हुने नेपाली महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । विश्व कप ट्रफीको नेपाल आगमनले नेपाली क्रिकेटप्रतिको अन्तर्राष्ट्रिय चासो बढ्दै गएको र यसले नेपालको खेलकुद पहिचानलाई विश्वस्तरमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


























