प्रहार समाचार । तनहुँ, २१ पुस २०८१ सोमबार । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि तनहुँ जिल्लामा तयारी तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन भौतिक तथा प्रशासनिक व्यवस्थापनमा जोड तोडकासाथ लागेको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा १० वटा स्थानीय तह, ८५ वडा, १ सय ४४ मतदान स्थल र ३ सय ९ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । मतदान स्थल र मतदान केन्द्र तोकिएपछि मतदाताले सहज र सुरक्षित रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। तस्बिरहरु : प्रहार अनलाईन मिडिया

तनहुँको क्षेत्र नं. १ मा पुरुष ६१ हजार ७ सय ७८ र महिला ६५ हजार १ सय ४ गरी १ लाख २६ हजार ८ सय ८२ मतदाता रहेका छन्। यस्तै निर्वाचन क्षेत्र नं. २ मा पुरुष ६१ हजार ७ सय १३ र महिला ६५ हजार ८ सय २ गरी १ लाख २७ हजार ५ सय १५ मतदाता रहेकाे निर्वाचन अधिकारी विकास लम्सालले प्रहार समाचारलाई जानकारी दिए । यो तत्थ्याङ्कले दुवै क्षेत्रमा महिला मतदाता संख्या पुरुषभन्दा बढी देखिएको छ ।

निर्वाचन आयोगबाट २०८२ साल पुस १२ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम तनहुँ जिल्लामा पुरुष मतदाता १ लाख २३ हजार ४ सय ९१ र महिला मतदाता १ लाख २० हजार ९ सय ६ रहेका छन्। यसअनुसार जिल्लाभर कूल मतदाता संख्या २ लाख ५४ हजार ३ सय ९७ पुगेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका सबै नागरिकले मतदान गर्न पाउनेछन्। निर्वाचन अधिकारी लम्सालले लोकतन्त्र सुदृढीकरणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सबै मतदातालाई निर्भीक र जिम्मेवार भएर मतदान गर्न आग्रह गरे ।

समग्रमा मतदान स्थल र केन्द्रको पर्याप्त व्यवस्था, अद्यावधिक मतदाता नामावली र प्रशासनिक तयारीले तनहुँ प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्ने आधार तयार भएको देखिन्छ। सचेत मतदाता सहभागितामार्फत लोकतन्त्रलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। सरकारले हिंजो मात्रै निर्वाचन सफल पार्न देशका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।



























