नेपालीमा एउटा प्रचलित उखान छ -“कागले कान लग्यो” भन्दैमा आफ्नो कान नछामी कहिल्यै कुद्नु हुँदैन। वर्तमान समाज जति धेरै बुझ्ने र शिक्षित बन्दै गएको छ, त्यति नै जटिल पनि बन्दै गएको छ। यसको प्रत्यक्ष उदाहरण मानिस आफैं बन्दै गएको छ। सूचना र प्रविधिको तीव्र विकाससँगै समाज अघि बढिरहेको छ, तर त्यससँगै भ्रम, अफवाह र असत्य पनि उस्तै गतिमा फैलिरहेका छन्।

पत्रकारितामा विकृति र भ्रमित सूचना :
आज नेपालको पत्रकारिता पेशा गम्भीर संकटमा छ। समाजले अब भ्रमित सूचना होइन, सत्य, तथ्य र निष्पक्ष समाचार चाहन्छ। तर पछिल्लो समय पत्रकारिताभित्रै गम्भीर विकृति मौलाउँदै गएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, कम्पनी रजिस्ट्रार वा घरेलु कार्यालयमा कुनै पनि प्रकारको दर्ता तथा नवीकरण नगरी सञ्चालन गरिएका स्वघोषित सञ्चार माध्यमहरूको संख्या दिनानुदिन बढ्दो छ। कतिपय सञ्चार माध्यम दर्ता त छन्, तर वर्षौँदेखि नवीकरणसमेत नगरिएका छन्।
यससँगै ‘फेसबुके पत्रकारिता’ नामक प्रवृत्तिले समाजलाई झनै दिग्भ्रमित बनाइरहेको छ। संस्थागत जिम्मेवारी, आचारसंहिता र जवाफदेहिता बिना सञ्चालन हुने यस्ता माध्यमहरूले सत्यभन्दा हल्ला, तथ्यभन्दा अफवाह र समाचारभन्दा सनसनीलाई प्राथमिकता दिइरहेका छन्। यही कारण पत्रकारितामाथिको जनविश्वास गम्भीर रूपमा खस्कँदै गएको छ।
पत्रकारिताको जिम्मेवारी र वास्तविकता :
फेसबुक मोनेटाइजेसन गरेर रातारात लाखौँ रुपैयाँ कमाउने अव्यावहारिक दिवासपना धेरैमा देखिन्छ। जबकि यथार्थमा यो लगभग असम्भवजस्तै छ। पत्रकारिता श्रम, अध्ययन, धैर्य र दीर्घकालीन विश्वासको पेशा हो।
पत्रकारिताको नाममा समाजमा पित पत्रकारिता फैलिँदै गएको छ। राज्यको चौथो अङ्ग भनिने पत्रकारिताले सबै निकायको खबरदारी गर्नुपर्नेमा, सुनेको भरमा, बिना तथ्य जाँच, भ्युज र लाइक बढाउने चक्करमा गलत सूचना प्रवाह भइरहेको छ। यसको जवाफदेहिता कसले लिने ? मनलाग्दी जे गर्न पाइँदैन — यो छुट कसैलाई पनि छैन।
समाजलाई भाँड्ने, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पार्ने खालका भ्रमित सूचनाहरू कसैले पनि प्रकाशन वा प्रसारण गर्नु हुँदैन। दुःखको कुरा, यस्ता भ्रमित समाचारहरूको चुहावट धेरैजसो स्वयं पत्रकार वा आफूलाई बौद्धिक ठान्ने व्यक्तिहरूबाटै भइरहेको छ। भएको कुरालाई “भयो” भन्ने, अनि फेरि “हैन” भन्ने प्रवृत्ति पत्रकारिताको विश्वसनीयतामाथिको खुला हमला हो।

सुधार, दक्षता र जिम्मेवार पत्रकारिता :
अब सच्चिने र गम्भीर आत्मसमीक्षा गर्ने बेला आएको छ। समाजलाई सुसूचित गर्नु, कलमको माध्यमबाट नकारात्मक प्रवृत्तिलाई जरैदेखि निर्मूल गर्नु र सकारात्मक पक्षलाई प्रोत्साहन गर्नु नै पत्रकारिता र पत्रकारको मूल धर्म हो। तर विषयगत दक्षता र ज्ञान बिना पत्रकारिता सम्भव हुँदैन — हामी पढेलेखेका मात्र होइन, सचेत र जिम्मेवार पनि हुनुपर्छ।
पत्रकारहरू सबै विषयगत विधामा कम्तीमा आधारभूत ज्ञान र दक्षता राख्नैपर्छ। पत्रकारले सोध्ने प्रश्नले नै उसको अध्ययन, तयारी र नैतिकताको स्तर देखाउँछ।
सत्यको सधैं विजय हुन्छ; झुटको खेती लामो समय टिक्दैन। स्वतन्त्रताको नाममा पिंजडामा थुनिएको चराको ढोका खोल्ने जिम्मा बिरालोलाई दिइयो भने के हुन्छ — गम्भीर रूपमा सोच्नुपर्ने विषय हो।
आज मिडियावाजीको नाममा धेरैको जीवनसँग खेलवाड भइरहेको छ। व्यक्तिगत जीवन र गोप्य विषय जबरजस्ती सार्वजनिक गरिँदैछन्। अब सबै पत्रकारहरूले समाज र राष्ट्रलाई सही मार्गदिशा दिन सकारात्मक, रचनात्मक र तथ्यमा आधारित कुरालाई प्राथमिकता दिनुपर्छ। दक्षता, योग्यता, विज्ञता र अनुभव अनिवार्य छन्।
धेरै कुकुर भेला भए मृग मारिँदैन — आफैंमा बाझ्न थाल्छन्। आजको पत्रकारिता पनि त्यस्तै अवस्थामा पुगेको छ। सत्य बोल्न डराउने अवस्था किन आयो ? अब प्रविधिको युग हो। अन्धभक्त बनेर हिँड्ने समय सकिएको छ। ठग्ने, छल्ने र सत्य लुकाउने काम अब पत्रकारिताबाट हट्नैपर्छ।
सत्यवान पत्रकारिता नै अन्तिम विकल्प हो — जिम्मेवार बन्नैपर्छ। वेलैमा सत्मार्ग रोजौँ, इमानदार पत्रकारिता र सचेत नागरिकको पहिचान स्थापित गरौँ। • देव बाँस्कोटा ( – बाँस्कोटाको यो लेख हामीले हल्दिबारी डटकमबाट सम्पादन गरेर लिएका हौं । ) सम्पादक


























