हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

लोकसंगीतको तालमा जीवनदान : दमौलीमा रक्तदानमार्फत मानवीय चेतनाको सन्देश

प्रहार समाचार । तनहुँ, १९ पुस २०८२ शनिबार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा तनहुँले लोकसंस्कृतिको संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई पनि अघि बढाउँदै आज दमौलीमा चेतनामूलक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।


व्यास नगरपालिका–३ अनसन चौतारि परिसरमा सम्पन्न कार्यक्रममा पछिल्लो समय प्रदेश अस्पताल दमौलीमा देखिएको रगतको अभावप्रति ध्यानाकर्षण गराउँदै ‘जीवन बचाउन रक्तदान’ भन्ने सन्देश प्रवाह गरिएको थियो। लोकगीत, भजन र दोहोरीको माध्यमबाट जनचेतना फैलाउँदै आयोजना गरिएको रक्तदान कार्यक्रमले संस्कृतिसँगै मानवीय सेवा पनि एकसाथ अघि बढ्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले रक्तदानलाई समाज परिवर्तनको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यस्ता मानवीय कार्यले नागरिकमा सकारात्मक सोच र सहयोगको भावना विकास गर्ने बताए। उनले सामाजिक संघ–संस्थाले यस्ता कार्यक्रमलाई नियमित अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।


व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तदानलाई ‘महान् दान’ को संज्ञा दिँदै यसले अरूको जीवन जोगाउनुका साथै रक्तदाता स्वयंको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने बताए।
प्रदेश अस्पताल दमौलीका अध्यक्ष कमलामोहन वाग्लेले अस्पतालमा दैनिक रूपमा रगतको आवश्यकता पर्ने यथार्थ प्रस्तुत गर्दै समुदायस्तरबाट हुने सहयोगले धेरै बिरामीको जीवन रक्षा हुने बताए।


नेपाल रेडक्रस सोसाइटीका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले सुरक्षित रक्तदान र रगतको व्यवस्थापनबारे जानकारी दिँदै नागरिकलाई समय–समयमा स्वेच्छिक रक्तदान गर्न आग्रह गरे।
प्रतिष्ठानका अध्यक्ष विश्व बुढा परिचारले लोक तथा दोहोरी गीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाज परिवर्तन र मानव सेवा प्रवर्द्धनको सशक्त माध्यमसमेत भएको उल्लेख गरे।

उनले संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
रक्तदान कार्यक्रममा १२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। संकलित रगत प्रदेश अस्पताल दमौलीमा उपचाररत बिरामीहरूको उपचारमा प्रयोग गरिने जनाइएको छ।


कार्यक्रमअघि पञ्चेबाजा, भजन–कीर्तन, नाचगान तथा रक्तदानको महत्व झल्किने दोहोरी गीत प्रस्तुत गरिएको थियो। लोकसंस्कृतिको मिठाससँगै जीवनदानको सन्देश प्रवाह भएको यो कार्यक्रमले ‘संगीतबाट सेवा’ भन्ने नयाँ चेतनाको झिल्को दिएको सहभागीहरूको प्रतिक्रिया थियो।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button