हेडलाईनसमाचारसबै प्रदेश

आजबाट माघ स्नान र स्वस्थानी व्रत सुरु

प्रहार समाचार । काठमाडौँ, १९ पुस २०८२ शनिबार । पौष शुक्ल पूर्णिमासँगै वैदिक सनातन धर्मावलम्बीका लागि आस्था र साधनाको विशेष समय सुरु भएको छ । आजदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना घरघरमा माघ स्नान, स्वस्थानी व्रत तथा कथा वाचन विधिपूर्वक गरिने परम्परा प्रारम्भ भएको हो ।

सतीदेवीका अङ्ग पतन भएका शक्तिपीठमा देवीदेवताको बास रहेको विश्वासका आधारमा विकसित यो परम्परालाई आत्मशुद्धि, मनोकामना पूर्ति र पारिवारिक सुख–शान्तिसँग जोडेर हेरिन्छ ।
स्वस्थानी व्रतअन्तर्गत बिहान माघ स्नान, मध्याह्नमा पार्वतीसहित महादेवको पूजा र बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गतको स्वस्थानी कथा वाचन गरिन्छ । एक महिनासम्म निरन्तर व्रतपछि माघ शुक्ल पूर्णिमामा १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षतासहित विविध पूजन सामग्री चढाई भगवतीलाई अघ्र्य अर्पण गर्ने विधि छ । व्रतका क्रममा जाग्राम बसेर देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परालाई मनोकामना सिद्ध हुने विश्वाससँग जोडिएको छ ।


धर्मशास्त्रअनुसार स्वस्थानी देवी सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा लिएकी देवीका रूपमा वर्णित छन् । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा भएको विश्वास छ । उत्तरायणपछि ध्यान, योग र आत्मसाधनाका लागि उपयुक्त समय भएकाले यो व्रतलाई आन्तरिक साधनासँग पनि जोडेर हेरिने गरेको धर्मशास्त्रविद्हरू बताउँछन् । पुराणमा पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको तथा नाग–नागिनीको पुनर्मिलन भएको कथाले यसको धार्मिक महत्व झन् गहिरो बनाएको छ ।


यसै अवसरमा उपत्यकाको उत्तर–पूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा आजदेखि एक महिनासम्म माधवनारायण मेला सुरु भएको छ । माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरेमा पाप क्षय भई पुण्य प्राप्त हुने विश्वासका कारण हरेक वर्ष लाखौँ भक्तजन यहाँ आउने गर्छन् । यस वर्षको मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको शालिनदी व्यवस्थापन समितिले जनाएको छ, जहाँ देशका विभिन्न भाग तथा भारतबाट समेत भक्तजनको आगमन सुरु भइसकेको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button