प्रहार समाचार । तनहुँ, १९ पुस २०८२ शनिबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको ९औँ जिल्ला अधिवेशन भोलि दमौलीमा हुँदैछ। पार्टीको संगठन सुदृढीकरण, भावी राजनीतिक कार्यदिशा तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित आयोजना गरिएको अधिवेशनमा अध्यक्ष पदका लागि छ जनाको उम्मेदवारी परेको छ।

तनहुँ उद्योग वाणिज्य हल, दमौलीमा बिहान ११ः३० बजेदेखि सुरु हुने अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। केन्द्रीय नेतृत्वको उपस्थितिले अधिवेशनलाई थप महत्व दिएको जिल्ला अध्यक्ष विनोद घर्तीले बताए।

९औँ जिल्ला अधिवेशनमा वर्तमान अध्यक्ष विनोद घर्ती, इम बहादुर केसी, पृथ्वी नारायण श्रेष्ठ, सिता थापा, हितमान कायस्थ र ध्रुवराज सुवेदी अध्यक्ष पदका दाबेदार रहेका छन्। पार्टीभित्र सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि सहमति नजुटे प्रजातान्त्रिक पद्धतिअनुसार दिउँसो २ बजे निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ।
पार्टी स्रोतका अनुसार संगठन विस्तारमा सक्रिय भूमिका खेलेका कारण वर्तमान अध्यक्ष विनोद घर्ती नै पुनः दोहोरिने सम्भावना बलियो देखिएको छ। जिल्लामा पार्टी संरचना मजबुत बनाउने, कार्यकर्ता सक्रियता बढाउने तथा स्थानीय तहमा राप्रपाको उपस्थिति प्रभावकारी बनाउने कार्यमा उनले देखाएको सक्रियताका कारण अधिकांश प्रतिनिधिको समर्थन उनको पक्षमा रहेको आकलन गरिएको छ।

अधिवेशनका क्रममा पार्टीको हालको संगठनात्मक अवस्था, आगामी राजनीतिक रणनीति, राष्ट्रवादी एजेन्डाको प्रभावकारी कार्यान्वयन तथा जिल्लामा पार्टीलाई थप सशक्त बनाउने विषयमा समेत व्यापक छलफल हुने जनाइएको छ ।



























