हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : तराई हुस्सुको चपेटामा, पहाड–हिमालमा हल्का वर्षा र हिमपातको संकेत

प्रहार समाचार । काठमाडौँ, १८ पुस २०८२ शुक्रबार । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज तराई भू–भागका अधिकांश स्थान हुस्सु र कुहिरोले ढाकिएका छन्। बिहानैदेखि तराईका सहर तथा ग्रामीण क्षेत्रहरूमा बाक्लो हुस्सु लागेपछि दृश्यता कम भएको छ, जसको प्रत्यक्ष असर दैनिक जनजीवन र सडक यातायातमा देखिन थालेको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पुनः हल्का हिमपातको सम्भावना कायमै रहेको छ। तराईका केही स्थानमा भने रातिसमेत हुस्सु रहने देखिएको छ।


मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण स्वास्थ्य, दैनिक गतिविधि तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेषगरी बिहान र रातिको समयमा सवारी साधन चलाउँदा सावधानी अपनाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button