प्रहार समाचार । तनहुँ, १७ पुस २०८२ बिहीबार । तनहुँको व्यास नगरपालिका–१२ भड्खलामा भएको खुकुरी आक्रमणको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्थानीय २३ वर्षीय सुमन भुजेलमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोही स्थानका ४३ वर्षीय देवबहादुर पाण्डे र ३० वर्षीय रञ्जन पाण्डेलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार पुस १६ गते राति भएको उक्त घटनापछि घाइते भुजेलको अवस्था गम्भीर रहेको छ। आक्रमणका क्रममा भुजेलको पाखुरा, नाडी, ढाड, कम्मर र तिघ्रामा गम्भीर चोट लागेको छ। घाइते भुजेललाई सुरुमा पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचारका लागि लगिएको भए पनि अवस्था गम्भीर भएपछि थप उपचार सम्भव नभएको भन्दै काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानबाट आक्रमण योजनाबद्ध देखिएको भन्दै प्रहरीले तत्कालै दुवै अभियुक्तलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। पक्राउ परेका पाण्डे दुवै जनालाई आज पुस १७ गते तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतबाट म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी विकले जानकारी दिए।
“घटनाको प्रकृति गम्भीर भएकाले सबै पक्षलाई समेटेर अनुसन्धान भइरहेको छ, कानुन बमोजिम कारबाही हुन्छ,” उनले भने।
उता, घाइते भुजेलका आफन्त पृथ्वी भुजेलले सामाजिक सञ्जालमार्फत घटनाप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन्। उनले खुकुरी प्रहारबाट गम्भीर घाइते बनाउनेहरूमाथि कुनै पनि प्रकारको ढिलासुस्ती नगरी न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
घटनाले व्यास नगर क्षेत्रमा सुरक्षा र आपराधिक गतिविधिप्रति चिन्ता बढाएको छ भने स्थानीयवासीले यस्ता हिंसात्मक घटनाको पुनरावृत्ति रोक्न कडा कदम चाल्न प्रहरी प्रशासनसँग माग गरेका छन्।


























