प्रहार समाचार । तनहुँ , १७ पुस २०८२ बिहीबार । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले दैनिक कामकाज नरोकी जनताको सेवा प्रवाहलाई प्राथमिकतामा राख्नु नै अदालतको प्रमुख काम रहेको बताएकी छन् ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जलेको तनहुँ जिल्ला अदालतको आज दमौलीमा निरिक्षण गर्दै न्यायाधिश प्रधानले उक्त कुरा बताएकी हुन् ।
त्यस अबसरमा तनहुँ जिल्ला अदालतका बारेमा जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय, न्यायाधीश राजेशकुमार कटुवाल, न्यायाधीश शम्भूप्रसाद बरालले न्यायाधिश प्रधानलाई जानकारी गराएको श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए । निरीक्षणका क्रममा अदालतका भौतिक संरचना, अभिलेख तथा प्रशासनिक व्यवस्थापनमा देखिएका समस्या न्यायाधीश प्रधानसमक्ष प्रस्तुत गरिएको थियो ।
आगलागीका कारण तनहुँ जिल्ला अदालतका महत्वपूर्ण अभिलेख, विशेषगरी जिन्सीसम्बन्धी कागजात जलेर नष्ट भएको जानकारी दिइयो । बेन्चबाट निर्णय भइसकेका मुद्दाहरू मिसिल प्राप्तिको निर्देशिका अनुसार अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यस अबसरमा हाल अदालतमा दर्ता भएका करिब ९ सय मुद्दामध्ये ४ सय फर्छ्यौट भइसकेको तथ्यांक प्रस्तुत गरिएको छ । आगलागीमा नगद २१ हजार रुपैयाँ जलेको, अफिसियल कोठा तथा इजालासको समेत अभाव रहेकोले कामकाजमा असहजता कायमै रहेको अदालत प्रशासनले जनाएको छ ।
निरीक्षणपछि निर्देशन दिँदै न्यायाधीश प्रधानले राष्ट्र र आम नागरिकको हित नै सर्वोपरि रहेको उल्लेख गरिन् । उनले न्याय सम्पादनको प्रक्रिया कुनै पनि बहानामा अवरुद्ध हुन नहुने स्पष्ट पार्दै सीमित स्रोत र कठिन अवस्थामा पनि सेवाप्रवाहमा समर्पित रहन आग्रह गरिन् ।
त्यसै क्रममा सञ्चार माध्यमहरूले समाजलाई सकारात्मक सन्देश दिने सामग्री प्रकाशन तथा प्रशारण गर्दै आएकोमा न्यायाधीश प्रधानले प्रशंसा समेत गरिन् ।

आगलागीबाट क्षतिग्रस्त भवनको मर्मत तथा संभारका लागि नगरपालिकाको सहयोग आवश्यक रहेको भन्दै उनले व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई फोनमार्फत सहयोगका लागि आग्रह गरिन् ।

यस अघि व्यास नगरपालिकाले आठ लाख रुपैयाँ सहयोग गरिसकेको र अन्य संघ–संस्थाबाट पनि सहयोग प्राप्त भए तापनि अदालतका कामकारबाही नियमित रूपमा सञ्चालन हुँदा व्यवहारिक चुनौती भने अझै कायमै रहेको जनाइएको छ । त्यस अबसरमा बरिष्ट अधिवक्ता कमला मोहन वाग्ले , तनहुँ बार एसोसिएसनका अध्यक्ष सरिता भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

आ


























