प्रहार समाचार । तनहुँ, १७ पुस २०८१२ लोपोन्मुख बन्दै गएको ठाडोभाका लोकगीतलाई संरक्षण गर्दै नयाँ पुस्तामा मौलिक गायन शैली हस्तान्तरण गर्ने उद्देश्यका साथ व्यास नगर प्रज्ञा प्रतिष्ठान, दमौली, तनहुँको आयोजनामा ठाडोभाका लोकगीत प्रशिक्षण कार्यक्रम आजबाट सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले लोकसंस्कृति कुनै समुदायको मात्र नभई समग्र समाजको साझा पहिचान भएको उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले मौलिक संस्कृतिको जगेर्ना र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय सरकार सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशिनाथ न्यौपानेले ठाडोभाका केवल गीत नभई इतिहास, भावना र जीवनशैलीसँग जोडिएको सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै यसको संरक्षणमा प्राज्ञिक संस्थाहरूको दायित्व अझ बढ्दै गएको बताए ।

ठाडोभाका संरक्षण अभियन्ता तथा प्रमुख प्रशिक्षक बुद्धिमान दुरा धम्पुले परम्परागत लोकगीत लोप हुने जोखिम बढिरहेको सन्दर्भमा व्यवहारिक प्रशिक्षणमार्फत नयाँ प्रतिभा उत्पादन गर्नु आवश्यक रहेकोमा जोड दिए । उनले मौलिकतालाई जोगाउँदै समयअनुसार प्रस्तुतीकरण गर्न सकिए ठाडोभाकाले फेरि जनजीवनमा स्थान बनाउने विश्वास व्यक्त गरे ।

‘लोक संस्कृतिको उत्थान एवम् संरक्षण– हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि १९ पुससम्म दमौली सभाहलमा सञ्चालन हुने उक्त प्रशिक्षणमा ठाडोभाका लोकगीतको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक बुद्धिमान दुरा (धम्पु) ले सहभागीहरूलाई गीतको संरचना, लय, भाव र प्रस्तुतीकरणबारे गहिरो अभ्यास गराइने बताए । कार्यक्रममा सहायक प्रशिक्षकका रूपमा सिता दुरा रहने छन् ।

दुरा सेवा समाज जिल्ला कार्यसमिति, तनहुँको सहजीकरणमा आयोजना गरिएको यस कार्यक्रममा प्राविधिक सहयोग ठाडो भाका लोककला प्रतिष्ठान नेपालले प्रदान गर्नेछ । साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति, तनहुँको सह–आयोजनामा कार्यक्रम सम्पन्न हुन लागेको हो ।

व्यास नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजाति तथा समुदायका इच्छुक व्यक्तिलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रशिक्षणले लोपोन्मुख ठाडोभाकालाई जीवन्त बनाउने र स्थानीय प्रतिभा उत्पादनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै प्राज्ञ देवीबहादुर बस्नेतले सांस्कृतिक पहिचान जोगाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै इच्छुकलाई सहभागी हुन आग्रह गरे ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव केदार आचार्यका अनुसार यस्ता सांस्कृतिक पहलहरूले स्थानीय पहिचान सुदृढ गर्नुका साथै भावी पुस्तालाई आफ्नै मौलिक संस्कृतिसँग जोड्ने विश्वास लिइएको छ ।



























