हेडलाईनसमाचारप्रदेश

सुनसरीमा मध्यरातमा गोली चल्यो : एकको मृत्यु

प्रहार समाचार । सुनसरी , १७ पुस २०८२ बिहीबार । सुनसरीको कोशी गाउँपालिकास्थित भारत–नेपाल सीमासँग जोडिएको क्षेत्रमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट एक स्थानीयको ज्यान गएको छ।

कोशी गाउँपालिका–१, पुरी टोलमा राति करिब १ बजे सिटी सफारीबाट सामान बोकेर फर्किंदै गरेका ४५ वर्षीय विजय साहमाथि गोली प्रहार हुँदा घटनास्थलमै उनको मृत्यु भएको हो। घटना सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) लौकही नजिक, भारतीय नाकाबाट करिब ५ सय मिटर उत्तरतर्फ भएको जनाइएको छ।


सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको उपस्थिति हुँदाहुँदै पनि मध्यरातमा भएको यस घटनाले स्थानीयलाई त्रसित बनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घटनास्थलबाट गोलीको खोका बरामद गरिएको छ भने प्रारम्भिक अनुसन्धानमा योजनाबद्ध आक्रमणको आशंका गरिएको छ। तर, गोली कसले र किन चलायो भन्ने विषय अझै खुल्न सकेको छैन।


प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि, तस्करी तथा व्यक्तिगत रिसइबीका सम्भावित पाटोहरू केलाउँदै प्रमाण संकलन भइरहेको डीएसपी खड्काले बताएका छन्। घटनापछि मृतकका परिवारमा शोक छाएको छ भने स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button