प्रहार समाचार । काठमाडौँ, १७ पुस २०८२ बिहीबार । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएसँगै आजदेखि उपभोक्ताले प्रत्यक्ष राहत पाउने भएका छन्।

निगमका अनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको हो।
नयाँ मूल्यअनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका क्षेत्रमा पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गमा १३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३६ रुपैयाँ र तेस्रो वर्गमा १३७ रुपैयाँ प्रतिलिटर तोकिएको निगमले जनाएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन्।

इन्डियन आयल कर्पोरेशनले पेट्रोल, डिजेल र हवाई इन्धनको खरिद मूल्य घटाएर पठाएसँगै निगमले खुद्रा मूल्य समायोजन गरेको हो। यद्यपि एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले स्पष्ट पारेको छ। इन्धनको मूल्य घट्दा ढुवानी र सेवामा पर्ने लागतमा कमी आउने अपेक्षा गरिएको छ भने ग्यासको मूल्य स्थिर राख्ने निर्णयले घरायसी उपभोक्तालाई थप दबाब पर्न नदिने संकेत गरेको छ।


























