हेडलाईनसमाचारप्रदेश

मेलमिलाप दिवसमा कांग्रेसभित्र ‘घर फर्क’ बहस, कोइराला–जोशी संवादले एकताको सन्देश

प्रहार समाचार । तनहुँ, १६ पुस २०८२ बुधबार । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाले आठ वर्षको निर्वासनपछि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति बोकेर स्वदेश फर्किएको ऐतिहासिक दिनको स्मरणमा नेपाली कांग्रेसभित्र पुनः एकताको बहस चर्किएको छ। ४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेता शेखर कोइराला र राजनीतिक विश्लेषक तथा नेता दीपकराज जोशीबीच काठमाडौँमा भएको संवादलाई कांग्रेसभित्र सकारात्मक संकेतका रूपमा हेरिएको छ।

संवादका क्रममा नेता शेखर कोइरालाले बीपी कोइरालाको मेलमिलाप नीति केवल इतिहास नभई आजको राजनीतिक यथार्थका लागि पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे । उनले लोकतान्त्रिक मूल्य, पारदर्शिता र समावेशिताको आधारमा पार्टीलाई पुनः सुदृढ बनाउनुपर्नेमा जोड दिँदै पार्टीभित्रका सबै धार र समूहलाई सम्मानपूर्वक समेट्न सके मात्र जनविश्वास पुनः हासिल गर्न सकिने धारणा राखे ।


त्यस्तै, नेता दीपकराज जोशीले कांग्रेसको ऐतिहासिक समावेशी चरित्रलाई स्मरण गराउँदै विगतमा विभिन्न कारणले पार्टीबाट टाढा पुगेका नेता, कार्यकर्ता र समर्थकहरूलाई पुनः मूलधारमा फर्काउनुपर्ने आवश्यकता औल्औँल्याए । जोशीले विगतका असहमतिलाई थाती राखेर साझा लक्ष्यका लागि एकजुट हुनुपर्ने बताउँदै ‘पार्टीको ढोका सधैँ खुला हुनुपर्छ’ भन्ने सन्देश दिए ।


राजनीतिक विश्लेषकहरूले मेलमिलाप दिवसको सन्दर्भमा भएको यो भेटलाई कांग्रेसभित्र सुधार, पुनर्संरचना र आन्तरिक एकताको आधार तयार गर्ने प्रयासका रूपमा लिएका छन्। बीपी कोइरालाको राष्ट्रिय एकताको सन्देशलाई व्यवहारमा उतार्ने दिशामा यस्ता संवादले पार्टीलाई आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button