हेडलाईनसमाचारमदेश

मधेस राजनीतिमा नयाँ तरङ्ग : जसपा–लोसपा एकीकरणको घोषणा

प्रहार समाचार । तनहुँ, १४ पुस २०८२ सोमबार । मधेस केन्द्रित राजनीतिमा लामो समयदेखि देखिँदै आएको विभाजन अन्त्यतर्फ संकेत गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरण गर्ने औपचारिक सहमति भएको छ। हिंजो काठमाडौंमा बसेको दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले एकीकरणको निर्णय गर्दै मधेस राजनीतिको नयाँ अध्याय सुरु गरेको छ।


जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका पदाधिकारी सहभागी बैठकले देशको वर्तमान राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायका मुद्दालाई थप मजबुत बनाउने उद्देश्यसहित एकीकरणको निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अग्रगामी परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता पनि जनाइएको छ । पछिल्लो समय मधेसका मुद्दा कमजोर बन्दै गएको आरोपका बीच दुई प्रमुख दलको सहकार्यले आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


लोसपा नेता जितेन्द्र सोनलले एकीकरणपछि पार्टी एउटै हुने, साझा चुनाव चिह्न रहने र सहमतिका आधारमा उम्मेदवार चयन गर्ने विषयमा सहमति भइसकेको जानकारी दिए। यद्यपि नयाँ पार्टीको नाम, संगठनात्मक संरचना र नेतृत्व व्यवस्थापनबारे भने थप छलफलपछि टुंगो लगाइने उनले बताए ।


राजनीतिक विश्लेषकहरूका अनुसार यादव–ठाकुरबीचको सहमतिले विगतका मतभेदलाई पन्छाउँदै साझा एजेण्डामा अघि बढ्ने संकेत दिएको छ। एकीकरणले मधेसको मुद्दालाई राष्ट्रिय राजनीतिमा पुनः केन्द्रमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


हिंजो जारी संयुक्त प्रेस–विज्ञप्तिमा दुवै अध्यक्षले हस्ताक्षर गर्दै एकीकरणको निर्णय औपचारिक रूपमा सार्वजनिक गरेका हुन्। अब पार्टीको औपचारिक घोषणा, नाम र संरचनाबारे हुने निर्णयले मधेस राजनीतिमा नयाँ समीकरणको रूप लिने संकेत देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button