प्रहार समाचार । काठमाडौं, १४ पुस २०८२ सोमबार । देशभर अहिले पश्चिमी वायूको आंशिक प्रभाव कायम रहँदा मौसमको स्वरूप फरक–फरक देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ भने पहाडी तथा हिमाली क्षेत्रको मौसम आंशिक बदली अवस्थामा रहेको छ।

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बादल लागेको देखिएको छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। सोमबार दिउँसो पनि तराई क्षेत्रमा धेरै स्थानमा हुस्सु तथा कुहिरो कायमै रहने अनुमान गरिएको छ, जसले हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने संकेत गरेको छ।
उता, पहाडी तथा हिमाली भू–भागमा भने आंशिक बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ।
रातिको समयमा पनि तराईका अधिकांश स्थानमा हुस्सु कायम रहने अनुमान छ। पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहँदा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले चिसो बढ्नुका साथै दैनिक गतिविधिमा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
महाशाखाले कुहिरो र सम्भावित वर्षा–हिमपातलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारण, यात्री तथा सरोकारवाला निकायलाई अनुरोध गरेको छ।



























