हेडलाईनविचारप्रदेश

जेन्जी बिद्रोहपछि खुल्दै गएको बौद्धिक दोहोरो चरित्र

‘आज देश फेरि निर्णायक मोडमा उभिएको छ। पुराना दलहरूलाई सीधै चुनौती दिने गरी बालेन शाह र रवि लामिछानेबीच चुनावी समझदारीको संकेत देखिन थालेको छ। बालेन शाहलाई सम्भावित भावी प्रधानमन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ। यतिबेला पनि यही बौद्धिक वर्ग फेरि तरंगित भएको देखिन्छ। विश्लेषण हराएको छ, तर्क कमजोर बनेको छ, र पुनः पुरानै ‘विदेशी षडयन्त्र’ को भाष्य निकालिएको छ।’ भन्दै जयप्रकाश आनन्द लेख्छन् :

नेपालको पछिल्लो राजनीतिक इतिहास केवल दलहरूको असफलताले मात्र होइन, तिनलाई वैचारिक आवरण दिँदै आएका एक वर्गका स्वघोषित बुद्धिजीवीहरूको दोहोरो चरित्रले पनि गहिरो रूपमा विकृत बनेको छ। जेन्जी बिद्रोह अघिको कालखण्ड यस यथार्थको ज्वलन्त उदाहरण हो।

जेन्जी बिद्रोहभन्दा पहिले यही बौद्धिक वर्गले काँग्रेस–एमाले सत्ता गठबन्धनप्रति असन्तोष व्यक्त गर्दै आएको थियो। केपी ओली नेतृत्वको सरकारलाई निरन्तर आलोचना गरियो, नेपाली काँग्रेसलाई “गठबन्धन तोड” भन्ने उपदेश दिइयो। उनीहरूको भाष्यमा सत्ता अस्थिर थियो, गठबन्धन अप्राकृतिक थियो, र राजनीतिक ‘सुधार’ अपरिहार्य थियो। तर जब यही असन्तोष एकाएक भयावह जेन्जी बिद्रोहका रूपमा विस्फोट भयो, तब यिनै बुद्धिजीवीहरूको स्वर अचानक फेरियो।


जेन्जी बिद्रोहभन्दा पहिले यही बौद्धिक वर्गले काँग्रेस–एमाले सत्ता गठबन्धनप्रति असन्तोष व्यक्त गर्दै आएको थियो। केपी ओली नेतृत्वको सरकारलाई निरन्तर आलोचना गरियो, नेपाली काँग्रेसलाई “गठबन्धन तोड” भन्ने उपदेश दिइयो। उनीहरूको भाष्यमा सत्ता अस्थिर थियो, गठबन्धन अप्राकृतिक थियो, र राजनीतिक ‘सुधार’ अपरिहार्य थियो। तर जब यही असन्तोष एकाएक भयावह जेन्जी बिद्रोहका रूपमा विस्फोट भयो, तब यिनै बुद्धिजीवीहरूको स्वर अचानक फेरियो।


बिद्रोहलाई ‘स्वाभाविक’ भन्दै त्यसका परिणामलाई भने ‘विध्वंसक’ करार गरियो। तर यस प्रक्रियामा एउटा खतरनाक मौनता देखियो— जेन्जी पुस्ताका राजनीतिक, सामाजिक र पुस्तागत मागहरूबारे गम्भीर बहस गर्ने साहस कसैले गरेन। सम्पूर्ण जिम्मेवारी सजिलै ‘विदेशी षडयन्त्र’ को थुप्रोमा हालियो। यो इमानदार विश्लेषण थिएन, यो त बौद्धिक पलायन थियो।
यथार्थ के हो भने, यी बुद्धिजीवीहरू अदृश्य रूपमा पुरानै सत्ता-संरचनाको पुनरावृत्ति चाहन्थे। काँग्रेस, एमाले र माओवादीकै सीमित घेराभित्र चुनावपछिको राजनीतिक ध्रुवीकरण होस्, सत्ता फेरि उही हातमा घुमिरहोस्— यही उनीहरूको अघोषित चाहना थियो। परिवर्तनको कुरा गर्ने, तर परिवर्तन देखिँदा तर्सिने— यही हो यिनको वास्तविक अनुहार।


आज देश फेरि निर्णायक मोडमा उभिएको छ। पुराना दलहरूलाई सीधै चुनौती दिने गरी बालेन शाह र रवि लामिछानेबीच चुनावी समझदारीको संकेत देखिन थालेको छ। बालेन शाहलाई सम्भावित भावी प्रधानमन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ। यतिबेला पनि यही बौद्धिक वर्ग फेरि तरंगित भएको देखिन्छ। विश्लेषण हराएको छ, तर्क कमजोर बनेको छ, र पुनः पुरानै ‘विदेशी षडयन्त्र’ को भाष्य निकालिएको छ।
यहाँ प्रश्न सरल छन्— यदि जनआधारित नयाँ राजनीतिक विकल्प देशी हुँदैन भने देशी के हो ? यदि युवाको असन्तोष षडयन्त्र हो भने पुराना दलहरूको दीर्घ असफलता के हो ?
यी बुद्धिजीवीहरू लोकतन्त्रको रक्षा गर्न डराइरहेका छैनन्; उनीहरू आफ्नै वैचारिक प्रभुत्व गुम्ने डरले त्रसित छन्। किनकि नयाँ नेतृत्व न उनीहरूको पुराना सिद्धान्तको बोझ बोकेको छ, न उनीहरूको अनुमतिमा राजनीति गर्न तयार छ। त्यसैले बालेन ‘अराजक’ देखिन्छन्, रवि ‘खतरनाक’ ठहरिन्छन्, र जनता ‘भुलाइएका’ करार गरिन्छन्।


यो प्रवृत्ति केवल कायरता मात्र होइन, यो गम्भीर बौद्धिक बेइमानी हो। जेन्जी बिद्रोहका बेला प्रश्न नगर्ने, तर नयाँ राजनीतिक विकल्प देख्दा देश अस्थिर हुने डर देखाउने— यो दोहोरो चरित्र अब नांगो भइसकेको छ।


आज नेपाललाई विदेशी षडयन्त्रभन्दा ठूलो खतरा यिनै स्वघोषित बुद्धिजीवीहरूको चयनात्मक चेतनाबाट छ। जबसम्म यो वर्ग आत्मआलोचनाको कठघरामा उभिँदैन, तबसम्म न बिद्रोह बुझिन्छ, न परिवर्तन स्वीकारिन्छ, न लोकतन्त्र बलियो हुन्छ।
अब प्रश्न बुद्धिजीवीहरूलाई होइन, जनतालाई हो— पुरानै गल्तीलाई वैचारिक भाष्य बनाएर दोहोर्‍याउने कि, नयाँ जोखिमसहित नयाँ सम्भावनालाई अवसर दिने ?
इतिहासले उत्तर खोजिरहेको छ।

(•आनन्दका यि बिचारहरु हामीले उनको फेसबुक पेजबाट सम्पादन गरेर प्रकाशित गरेका हौं र यि बिचारहरु उनका निजी हुन्।) सम्पादक


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button