हेडलाईनसमाचारगण्डकीविजनेस

स्थानीय पर्यटनलाई रोजगारी र आयआर्जनसँग जोड्दै लमजुङको दोर्दी गाउँपालिका

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, १२ पुस २०८२ शनिवार । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटनलाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले होमस्टे सञ्चालकलाई लक्षित गर्दै घरबास व्यवस्थापन तथा रैथाने पाक शिक्षासम्बन्धी कार्यक्रमलाई जोड दिएको छ। होमस्टे सञ्चालन थालेका गाउँका सञ्चालकलाई व्यवहारिक सीप प्रदान गर्दै सेवा गुणस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

दोर्दी गाउँपालिका–७, माथिल्लो दैलुङमा बुधबारदेखि सुरु भएको पाँचदिने तालिममा गाउँपालिका–१, ४ र ५ बाहेक होमस्टे सञ्चालनमा रहेका वडाका ३० जना भन्दा बढी सञ्चालकको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रममार्फत होमस्टे प्रवर्द्धनको आधार तयार गरिसकेको उल्लेख गर्दै अब व्यवस्थापन र स्थानीय परिकारमार्फत पाहुनालाई आकर्षित गर्ने चरणमा गाउँपालिका पुगेको बताए।
प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले पर्यटनलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बनाउने लक्ष्यसहित गाउँपालिकाले होमस्टे सञ्चालन, व्यवस्थापन र सीप विकासमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए। तालिमले गाउँमै रोजगारी सिर्जना, आयआर्जन र बसाइँसराइ रोक्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।


गाउँपालिका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण रोजगार संयोजक धर्मराज गुरुङले गरेका थिए। दीगो पर्यटन परियोजनाको समन्वयमा आयोजित तालिम पुस १३ गतेसम्म सञ्चालन हुनेछ। तालिममा होमस्टे महासंघ गण्डकीका इन्चार्ज चुडामणि पौडेल र होटल व्यवस्थापन प्रशिक्षण केन्द्रका सञ्चालक मोहन गजुरेलले प्रशिक्षण दिइरहेका छन् ।


हाल दोर्दी गाउँपालिकाका वडा नं. २ सल्लाबोट, ३ श्रीमञ्ज्याङ लामागाउँ, ६ ताँजे, ७ लप्सीबोट र दैलुङ, ८ टाप गाउँ र खिन्चोक तथा ९ माझगाउँ गरी सातवटा गाउँमा होमस्टे दर्ता भई सञ्चालनमा रहेका छन्। तालिमले ती गाउँका होमस्टेहरुलाई व्यवस्थित बनाउँदै दोर्दीलाई आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button