• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, १२ पुस २०८२ शनिबार । प्रदेश अस्पताल लमजुङले नयाँ नेतृत्व पाएको छ। नवनियुक्त अध्यक्ष विजय गुरुङले औपचारिक कार्यक्रमबीच पदभार ग्रहण गर्दै अस्पतालको सेवा गुणस्तर सुधार र विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङलाई पदभार हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेश अस्पताल लमजुङले पछिल्लो समय स्वास्थ्य सेवा प्रवाहमा हासिल गरेका उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गरे। उनले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र पहल निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष विजय गुरुङले अस्पताललाई जनमैत्री, विश्वासिलो र गुणस्तरीय सेवाको केन्द्र बनाउने लक्ष्यसहित जिम्मेवारी सम्हालेको बताए। उनले अस्पतालको सेवा विस्तार, व्यवस्थापन सुधार तथा पूर्वाधार सुदृढीकरणका लागि सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले हाल अस्पतालले प्रदान गर्दै आएको सेवा, गत आर्थिक वर्षको प्रगति र चालु आर्थिक वर्षका कार्ययोजनाबारे संक्षिप्त जानकारी गराएका थिए। साथै जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे र अस्पतालका पूर्व अध्यक्ष हरिजंग तामाङले नवनियुक्त अध्यक्षलाई शुभकामना मन्तव्य दिएका थिए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिजिसियन डा. अमृत अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण तथ्यांक विभाग प्रमुख पुरुषोत्तम घिमिरेले गरेका थिए।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत मंसिर २३ गते विजय गुरुङलाई लमजुङस्थित प्रदेश अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो।




























