हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको घाँसीकुवामा ट्रक पल्टिँदा चालक सवारीमै च्यापिए : सेना, प्रहरी र स्थानीयले गरे उद्धार

प्रहार समाचार । तनहुँ, १२ पुस २०८२ शनिबार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटनामा पर्दा चालक सवारीसाधनमै च्यापिएर घाइते भएका छन्। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको WB 73G 6210 नम्बरको सिमेन्ट बोकेको बल्गर ट्रक अनियन्त्रित भई सडकको छेउमा पल्टिएको हो ।


दुर्घटनामा भारतको दार्जिलिङ घर भएका करिब ४० वर्षीय अर्वेन्द सहनी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चालक ट्रकभित्रै च्यापिएको अवस्थामा फेला परेका थिए। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिब तीन घण्टासम्म चलेको उद्धार कार्यपछि बिहान करिब ८ बजे उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
उद्धारपछि घाइते चालकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। प्रहरीका अनुसार चालकको दुवै हातखुट्टामा चोट लागेको भए पनि अवस्था मध्यम रहेको छ। दुर्घटनापछि ट्रक घटनास्थलमै रहे पनि राजमार्गमा सवारी आवागमन भने अवरुद्ध भएको छैन।


घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक शिवप्रसाद पाठकको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button