प्रहार समाचार । काठमाडौँ, ३ मंसिर २०८२ बिहीबार । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले पार्टी नेतृत्वमा केपी शर्मा ओलीको बलियो पकड कायमै रहेको देखाएको छ । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै अध्यक्ष ओलीको प्यानलले करिब सम्पूर्ण नेतृत्व कब्जा गरेको देखिएको छ । १९ पदाधिकारीमध्ये १७ पद ओली प्यानलले जित्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीमा निर्णायक प्रभाव कायम गरेको हो । तस्बिरहरु : सामाजिक संञ्जाल

महाधिवेशनअन्तर्गत भएको मतदानमा कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मत हालेका थिए । अध्यक्ष पदमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी शंकर पोखरेललाई फराकिलो अन्तरले पराजित गरे । पोखरेल ५ सय ६४ मतमै सीमित भए । मत परिणामले पार्टीभित्र ओलीप्रतिको विश्वास अझै बलियो रहेको सन्देश दिएको छ ।
महासचिव पदमा पनि ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन् । उनले १ हजार २ सय २८ मत प्राप्त गर्दै ईश्वर पोखरेल प्यानलका सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गरे । पोखरेल लगातार दोस्रो कार्यकालका लागि महासचिव बनेका हुन् । उपाध्यक्ष पदमा पृथ्वी सुब्बा गुरुङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भए । तीमध्ये गोकर्ण विष्ट मात्र ईश्वर पोखरेल प्यानलबाट विजयी भएका हुन् ।
उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भए । सचिव पदका नौ सिटमा सबै अध्यक्ष ओली प्यानलका उम्मेदवार विजयी हुँदा महेश बस्नेत सर्वाधिक मत ल्याउने नेताका रूपमा अगाडि देखिए । समग्र नतिजाले एमालेको भावी राजनीतिक दिशामा ओलीको प्रभाव अझै केन्द्रमा रहने संकेत दिएको छ । पार्टीभित्र एकल नेतृत्व र संगठित प्यानल रणनीतिले निर्णायक जित दिलाएको विश्लेषण हुन थालेको छ ।




























