हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँको शान्ति – सुरक्षा अवस्था मिश्रितः लागुऔषध र घरेलु हिंसामा चुनौती

प्रहार समाचार । तनहुँ, ३ पुस २०८२ बिहीबार । तनहुँ जिल्लाको शान्ति सुरक्षा अवस्था मिश्रित देखिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मंसिर महिनाको मासिक प्रगति विवरणअनुसार अपराध नियन्त्रण, लागुऔषध कारोबार र घरेलु हिंसाका घटनाले प्रहरीका लागि चुनौती थपेको देखिएको छ । यद्यपि नियमित गस्ती, चेकजाँच र प्रहरी परिचालनमार्फत जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउने प्रयास जारी रहेको जनाइएको छ ।

प्रहरीका अनुसार मंसिर महिनामा जिल्लामा कुल ३४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर अपराध ३ वटा रहेका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधको संख्या १४ पुगेको छ । आर्थिक अपराध १६ वटा दर्ता हुँदा अन्य प्रकृतिका अपराध १ वटा रहेका छन् । सो अवधिमा २६ जना प्रतिवादी पक्राउ परेका छन् ।

फैसला कार्यान्वयनतर्फ फरार प्रतिवादी पक्राउ गरी ४ महिना २७ दिन कैद तथा २० हजार रुपैयाँ जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ । साथै बिगो र क्षतिपूर्ति समेत असुल गरिएको जानकारी दिइएको छ । यसले पुराना मुद्दाको कार्यान्वयनमा प्रहरी सक्रिय देखिएको संकेत गर्छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फका घटनामा घरेलु हिंसाका उजुरी उल्लेख्य रहेका छन् । घरेलु हिंसाका ५ वटा उजुरीमध्ये ४ वटा मिलापत्रमार्फत टुंग्याइएको छ । विवरणअनुसार मानसिक हिंसाका घटना बढी देखिएका छन् । सबैभन्दा धेरै घटना व्यास नगरपालिकामा र सबैभन्दा कम घिरिङ गाउँपालिकामा दर्ता भएका छन् ।

लागुऔषध नियन्त्रणतर्फ ७ जना पक्राउ परेका छन् । प्रहरीले ट्रामाडोल ११८० क्याप्सुल, ४८–४८ एम्पुल डाइजापाम, फेनारगन र ब्रुपिनुर्फिन तथा २०० ग्राम चरेश बरामद गरेको जनाएको छ । यसले जिल्लामा लागुऔषध कारोबार र दुरुपयोग अझै गम्भीर समस्याका रूपमा रहेको देखाउँछ ।

शान्ति सुरक्षातर्फ मंसिर महिनाभर नियमित पिकेट, चेकिङ, ग्रामीण गस्ती, LRP र SRP गरी जम्मा ९ हजार १९६ पटक प्रहरी परिचालन गरिएको छ । सवारी चेकजाँचका क्रममा २ हजार ४१९ सवारी साधन कारबाहीमा परेका छन् भने २० लाख ४९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी अवैध हातहतियार नियन्त्रणतर्फ एक थान वेवारिसे पेस्तोल बरामद गरिएको छ । विपद् व्यवस्थापनतर्फ बाढी, पहिरो र आगलागीका ४ घटनामा प्रहरी परिचालन भई ६ जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी श्रबण कुमार बिक प्रहरीले जानकारी दिए । ज

प्रहरीले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण र समुदायसँग सहकार्य गर्दै जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाइने जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button