प्रहार समाचार । तनहुँ, २ पुस २०८२ बुधबार । शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै व्यास नगरपालिका–९ गजौडे स्थित माहेन्द्री माध्यमिक विद्यालयमा ‘लायन्स आकस्मिक उपचार कक्ष’ निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। उक्त कक्ष एन. एल. एफ. ( NLF) बाट प्राप्त रकम तथा तनहुँ सत्यवती लायन्स क्लबको पहलमा संकलित सहयोगबाट निर्माण गरिएको हो।

विद्यालय परिसरमै आकस्मिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको कक्षको उद्घाटन Lions Club International, District 325 L का को–चिफ एड्भाइजर तथा MJF लायन चूडामणि दाहाल, व्यास–९ का वडा अध्यक्ष सुरेश थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले संयुक्त रूपमा गरेका हुन्। उद्घाटनसँगै नेशनल एपोलो अस्पतालका डा. निश्चल न्यौपानेले स्वास्थ्य परीक्षण गर्दै कक्षको औपचारिक सुरुवात गरेका थिए ।

कार्यक्रम विद्यालयको ५२औँ वार्षिकोत्सव समारोहसँगै सम्पन्न गरिएको थियो। सो अवसरमा तनहुँ सत्यवती लायन्स क्लबकी अध्यक्ष लायन सिता बैध, जोन चेयरपर्सन लायन पवित्रा खनाल, पूर्व अध्यक्षहरू बिमला सैजु, रामशोभा श्रेष्ठ, राधिका परियार, प्रथम उपाध्यक्ष गीता श्रेष्ठ, कोषाध्यक्ष सुनिता चन्दलगायतको उपस्थिति रहेको थियो।

विद्यालयमै उपचार कक्ष सञ्चालनमा आएपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल प्राथमिक उपचार सेवा प्राप्त हुने विश्वास गरिएको छ। स्थानीय तह, सामाजिक संस्थाको सहकार्यबाट विद्यालयमा स्वास्थ्य पूर्वाधार थपिनु शिक्षासँगै स्वास्थ्य सुरक्षाको दृष्टिले महत्वपूर्ण उपलब्धि भएको मानिएको छ ।



























