हेडलाईनविचारसाहित्यप्रदेश

वेदव्यासको जन्मभूमि दमौली

“नेपाले विषये ये च राजनस्तानवाजयन्” यो नेपाल शव्द भएको श्लोक महाभारतको वनपर्वमा उल्लेख छ । यसबाट महाभारतकालमा नै यो भूखण्डको नाम नेपाल थियो भन्ने बुझिन्छ । योभन्दा पनि पर रामायणकालमा भगवान राम एकवर्षसम्म तीर्थाटन गर्दै हिड्दा यो नेपाल भूमिमा गण्डकीको संगममा स्नान गर्नुभएको कुरा आनन्द रामायणको यात्राकाण्डमा यसरी उल्लेख भएको छ । “गण्डकी संगमे स्नात्वा नेपाले जगदीश्वर” गण्डकीको संगम नेपालमा जगदीश्वर (राम) ले स्नान गर्नुभयो । यो गण्डकीको संगम भनेको देवघाट हुनुपर्दछ । किनकि पश्चिमबाट कृष्ण (काली) गण्डकी र पूर्वतिरबाट सप्तगण्डकीको संगम देवघाटमा नै हुन्छ । यहाँ दुवैतिरबाट गण्डकी नदी नै भेट भएका छन् । यस्तै अर्को प्रसंगमा पार राजाका छोरा नीप राजाले व्यासकी हजुरआमा (माछी) स्मारकस्वरुप स्थापना गरिएकी मत्स्योदरी कुण्ड छाव्दीवाराहीको नगिचै बसी शिवजीको तपस्या गरेछन् । पछि शिव खुसी भई वर माग भन्दा मेरो नीप नामबाट यो राज्य प्रसिद्ध होओस् भनी वर माग्दा मेरो मूल स्थान पाशुपत क्षेत्र नीप नामबाट नेपाल भनी प्रसिद्ध हुनेछ, भनी वरदान दिनु भएकाले नेपाल नाम रहन गएको हो भन्ने प्राचीन इतिहासमा पाइन्छ । अहिलेसम्म नेपाल शव्दको उत्पत्तिबारे हामीले सुन्दै आइएको ने मुनिबाट पालन गरिएकाले नेपाल, निप जातिले पालन गरेकाले नेपाल, यस्तै विभिन्न भाषाका ग्रन्थमा सिधा वा अपभ्रंश हुँदै नेपाल नाम रहन गएका प्रसङ्गहरु धेरै नै पाइन्छन् । यसरी बुझ्दा महाभारतकालमा र अरु प्राचीन ग्रन्थ रामायणमा पनि नेपाल शव्दको प्रयोग पाइनुले नेपाल नाम र देशको अस्तित्व धेरै प्राचीन रहेछ भन्ने अनुमान आउछ । यहाँ नेपाल नामको प्रसङ्ग किन ल्याइएको हो भने भगवान वेदव्यासले आफू जन्मेको देशको नाम महाभारतमा उल्लेख गर्नु भएको कुरा देखाउन खोजिएको हो । यसबाट महाभारतको रचना वेदव्यासले नेपालमै बसेर गर्नुभएको थियो भन्ने संकेत मिल्दछ । भारतीय लेखक वेददत्त पतनायकको जय नामक पुस्तकमा पनि महाभारत नेपालमै रचना गरिएको कुरा उल्लेख छ । वेदव्यासले चारवेद, अठ्ठार पुराण, महाभारत, व्रह्मसूत्र आदि कुनैपनि ग्रन्थमा रचनाकारका रुपमा प्रत्यक्ष आफ्नो नाम उल्लेख गर्नु भएको छैन । तर यिनै ग्रन्थभित्र खोज्दै जाने हो भने रचनाकार स्वयं वेदव्यास हुनुभएको र वेदव्यास आफू जन्मनु भएको देश र जन्मभूमिको प्रत्यक्ष वा सांकेतिक सूचनाहरु पुराणहरुमा पाइन्छन् ।


व्यास परिचय :
दासराज माझीकी पोष्यपुत्री सत्यवती र महर्षि पराशरबाट श्रीकृष्णद्वैपायन वेदव्यास जन्मनु भएको प्रसङ्ग स्कन्दपुराणको हिमवत् खण्डमा स्पष्ट उल्लेख भएको छ । यस्तै व्यासको जन्मकथा महाभारत तथा देवी भागवत वर्णित छ । अलौकिक शक्तिले सम्पन्न वेदव्यास भगवान नारायणको सत्रौं अवतार हो भनी श्रीमद्भागवतमा उल्लेख छ । अष्ट चिरञ्जिवी मध्ये एक व्यास पनि भएको पुराणहरुमा पाइन्छ र व्यास अद्यापि सशरीर रहेको कुरा भागवतमा भनिएको छ । कलियुगी मानिसहरुको धारण शक्ति कमजोर हुने देखेर एक वेदलाई ऋक, यजु, साम, अथर्व गरी चारभागमा विभाजन गरेर लिपिबद्ध पनि गर्नुभयो । अठ्ठारपुराण अठ्ठारै उपपुराण, महाभारत, ब्रह्मसूत्र व्यासस्मृति ग्रन्थ एवं उत्तरमीमांसा आदि धेरै वौद्धिक दर्शनहरुको रचना एवं लेखन गरी समस्त प्राणीका कल्याणार्थ मानव समाजलाई सुम्पिदिनुभएको छ । वैदिक दर्शन बुझ्नलाई सरल एवं सुवोध होओस् भन्ने हेतूले चारवेद चार शिष्यलाई र पुराण इतिहास रोमहर्षण आदि शिष्यलाई विशेष अध्ययन गराई शिष्य परम्पराद्वारा मानव समाजमा फैलाउने संस्कार चलाउनु भयो । यसरी वेदपुराणहरुको विस्तार गरेकाले नै वेदव्यास भएको हो । वेदको तात्पर्य ज्ञान र व्यासको तात्पर्य फैलाउनु भएकाले सृष्टि भए यता अहिलेसम्म यो पद धारण गर्ने अठ्ठाईस महापुरुष भइसक्नु भयो । सत्ताइससम्मका व्यासका नाम विभिन्न भएका र उत्पत्ति भूमि पनि विभिन्न भू–खण्डमा हुन सक्ने र अठ्ठाईसौं वेदव्यासको जन्म दमौलीमा भएको हो भन्ने कुरा पौराणिक एवं भौगोलिक प्रमाणहरुद्वारा पुष्टि हुने देखिन्छ । अठ्ठाईसौं व्यासको नाम श्रीकृष्णद्वैपायन हो भन्ने कुरा महाभारत एवं अन्य पुराणहरुमा पनि पाइन्छ । कृष्ण भनेको कालो र दुई नदीको बीच द्वीपमा जन्मनु भएकाले द्वैपायन भई श्रीकृष्णद्वैपायन नाम हुन गएको भनिन्छ । जन्मेको स्थानमा चारैतिर वयरको झाडी भएकाले वादरायण नामले पनि व्यासलाई पुकारिन्छ ।
यसरी वैदिक ग्रन्थ लेखन गरेर केवल मानव पुस्तालाई मात्र सुम्पनु भएन, महाभारतकालमा प्राणीहितका लागि व्यास आफै प्रत्यक्ष संलग्न भई गहन भूमिका निर्वाह गर्नु भएका प्रसङ्गहरु प्रशस्त पाइन्छन् । यसप्रकार वैदिक वाङ्मयका क्षेत्रमा व्यासको बहृत् एवं महनीय योगदान रहेको पाइन्छ । व्यासलाई जगतगुरु पनि भनिन्छ । यसकारण व्यासको जनमदिन आषाढ शुक्लपूर्णिमालाई व्यासपूर्णिमा तथा गुरुपूर्णिमा मानी व्यासप्रति सम्मान व्यक्त गरिन्छ । वेदव्यासलाई वैदिक सनातन धर्मका व्याख्याता र वैदिक सहित्यका पथ प्रदर्शक पनि भनिन्छ । धृतराष्ट्रका एक प्रिय मन्त्री सञ्जयलाई दूरश्रवण एवं दिव्य दृष्टि दिई कुरुक्षेत्रको युद्ध मैदानमा भगवान श्रीकृष्णबाट अर्जुनलाई उपदेशस्वरुप दिइएको श्रीमद्भगवत गीता जस्ताको तस्तै ल्याई महाभारतको भीष्मपर्वमा संग्रहित गरिदिनु भई गीताजस्तो अमूल्य अमर उपदेश संसारलाई सुलभ पारिदिनु भएको छ ।
व्यास जन्मबारे पौराणिक प्रमाणहरु ः
स्कन्दपुराणको हिमवत् खण्ड गण्डकी माहात्म्य परिशिष्ट भाग अध्याय ५ श्लोक ५४, ५५, ५६ मा भएको छ –
पारकोटेन्य तीर्थञ्च वर्तते पुण्यदायकम् ।
माद्रिका शुक्लगण्डक्यो सङ्गमे शङ्कराभिदम् ।।
तपश्चकार तत्रैव पराशर महामुनिः ।
पराशर गुहातत्र तप सिद्धि प्रदायिनि ।।
जज्ञे मत्स्योदरी पुत्रस्तत्र द्वीपे पराशरात् ।
पुराण सहिताकर्ता वेदशास्त्र प्रवर्तकः ।।
अर्थात् – पारकोट (पार नामक राजाले राज्य गरेको) क्षेत्रमा माद्री (मादी) शुक्ला (सेती) गण्डकीको संगममा शंकर भगवानको प्यारो अर्को पवित्र तीर्थ छ । त्यही गुफामा पराशर महामुनिले तपस्या गर्नुभयो । जुन गुफा तपस्याको सिद्धि (फल) दाता छ । त्यही नेरको टापुमा महर्षि पराशरबाट मत्स्योदरी द्वारा वेदव्यासको जन्म भयो । जसले सम्पूर्ण पुराण रचना गरी वेदशास्त्रको पनि प्रवर्तक हुनुभयो ।
यसैगरी अर्को एक प्रसङ्गमा –
दमौली वयरका वनमा जन्मिएका पराशर र सत्यवतीका पुत्र व्यास मुनि दुई नदीको बीच द्वीपमा लामो समय तपस्या गरी तपस्वी बने भनी यही अर्थ आउने गरी संस्कृत श्लोकमा यसरी भनिएको पाइन्छ ।
दमौली जन्मा बदरी वनस्थो । व्यासो मुनि सत्यवती सुतोऽसौ ।।
पराशरात्मा सरिदन्तराले “चिरञ्चकारात्र तपस् तपस्वी”
यो श्लोक योगी नरहरिनाथले आफ्नो देवदेशो हिमालय भन्ने पुस्तकमा उल्लेख गर्नुभएको छ । यसरी माद्रीको मादी र शुक्लाको सेती नाम हुँदै हिमालयबाट बग्दै आएका यी दुई नदीको भेट दमौलीमा नै भएको छ । संस्कृत साहित्यमा यी दुई नदी मध्ये मादीलाई माहेन्द्री र सेतीलाई शुक्ला भनी संवोधन गरिएको पाइन्छ । शुक्ल यजुर्वेद माध्यन्दिनीय शाखा अध्याय २६ को १५ औं कण्डिकामा भनिएको छ – “उपह्वरे गिरिणम् उपहरे गिरिणाम् सङ्गमे च नदीनाम् धिया विप्रो अजायतः” अर्थात् पहाडमा नगिचै एकान्त स्थानमा दुई नदीको संगममा बुद्धिमान ब्राह्मणको जन्म भयो । यस भनाइलाई विचार गर्दा माथि उल्लेखित श्लोकले भनेअनुसार यहाँ शुुक्ला माहेन्द्री नदीको संगमद्वीपको चारैतिर पहाडैपहाड भई दुई नदीको संगमस्थल उपत्यका पर्न गएकाले बुद्धिमान विप्रको जन्म भयो भनी वेदव्यासलाई नै संकेत गरेको अनुमान आउछ । वेदव्यासले आफू जन्मिएको भूमिबाट पूर्वतर्फ माछी देवीको कुण्ड (मस्त्यदरी कुण्ड) को स्थापना गर्नुभयो भनी स्कन्दपुराणको हिमवत् खण्डको परिशिष्ट भागमा – “तत्क्षेत्रात् पूर्वभागे च कुण्ड मत्स्योदरी कृतम्” भनी उल्लेख गरिएको छ । यहाँ व्यास जन्मनु भएको शुक्ला माहेन्द्री नदीको संगम द्वीपबाट ठीक पूर्वतर्फ मत्स्योदरी कुण्ड (माछीदेवी) हाल प्रचलित नाम छाब्दीवाराही देवीको कुण्ड छ । अब पारकोट क्षेत्र भनेको कुन हो भन्ने विषयमा यसै गण्डकी माहात्म्यमा भनिएको छ – “अन्तराले महानद्यो गण्डकी शूल गण्डयो । पारकोटामिधस्तस्याद्देश सर्वत्र विश्रुत ः” अर्थात् – काली गण्डकी र त्रिशुली गण्डकीको बीच भागलाई पारकोट भनिन्छ । यो पारदेश सबैतिर प्रसिद्ध छ । यहाँ पूर्वतर्फ त्रिशुली र पश्चिमतर्फ काली गण्डकी पर्दछन् । यी पार क्षेत्रको भू–खण्ड उत्तर मुक्तिक्षेत्र र दक्षिण देवघाटसम्म प्राचीन कालमा पारक्षेत्र मानिएको देखिन्छ । यहाँ पारनामक राजाले राज्य गर्थे र उनको राजधानीलाई पारकोट भनिन्थ्यो । यो पारकोट व्यास जन्मभूमि दमौलीबाट करिव दश किलोमिटर उत्तर पूर्वमा अवस्थित छ । यो पारकोट अहिले पुर्कोट नामले प्रसिद्ध छ ।
भौगोलिक सन्दर्भहरु :
पराशर आश्रम :
पराशर ऋषिले चारैतिर कुहिरो सृष्टि गरी लोकलज्जाबाट बचेर सत्यवतीसँग एकाकार भएपछि भगवान वेदव्यास जन्मनु भएको द्वीप नै अहिले पराशर आश्रमका नामले चिनिन्छ । व्यासलाई जन्माएपछि सत्यवती धर्मपिता दासराजका घरमा गइन् र वेदव्यास तत्काल तप गर्न प्रस्थान गर्नुभयो । महर्षि पराशर भने त्यही द्वीपमा नै आश्रम बनाई तपस्यारत हुनुभयो । लामो समयको तपस्यापछि ठाउँठाउँमा आश्रम बनाई महर्षि पराशर यत्रतत्र पनि भएकाजस्ता लाग्ने सन्दर्भहरु यहाँ परिपरि मिल्दाजुल्दा पाइन्छन् ।


व्यासगुफा :
पराशर आश्रमबाट पूर्वतर्फ मादीनदीको ठिक पारिपट्टि व्यासगुफा रहेको छ । लगभग किनारैमा जस्तो रहेको यो गुफा पराशर आश्रमतर्फ नै मुखाकृत छ । आकारमा त्यति ठूलो नलाग्ने र लगभग सात मिटर जति गहिरो भएको यो गुफाको माथि सिलिङ्गमा मान्छे छिर्न मिल्ने सानो सुरुङ छ । मुखमा सातआठ फिट जति उचाई भए पनि भित्र भने सागुरिदै गएको गुफाको सुरुङबाट मानिस छिरेर माथि निस्कन सकिन्छ । सुरुङबाट छिरेर माथि ननिस्किदै बीचमा एकजना मात्र पलेटी मारेर बस्न मिल्ने ठाउँ छ । यहीँ बसेर व्यासले ध्यान समाधिमा लीन हुनुहुन्थ्यो र तल बसेर शिष्यहरुलाई ज्ञानोपदेश गर्नुहुन्थ्यो भन्ने किवदन्ती छ । त्यसैले तल्लो गुफालाई ज्ञानगुफा र माथिल्लोलाई ध्यानगुफा भन्ने चलन छ ।


पराशर घाट (पाथरघाट) :
पराशर आश्रमबाट करिव पाँच सात किलोमिटर उत्तरतर्फ पाथरघाट भन्ने ठाउँ छ । यो घाट मादी नदीमा आउने जाने यात्रुहरुलाई डुङ्गाबाट वारपार गराउने घाट हो । यहाँ पराशर ऋषिले तपस्या गरेर बस्नु भएकोले प्राचीन कालमा यसलाई पराशर घाट भनिन्थ्यो र अहिले अपभ्रंस भई पाथरघाट हुन गएको हो भन्ने किवदन्ती रहेको छ ।


चेदीदेश :
वेदव्यासको जन्मबारे महाभारतमा यस्तो कथा छ, चेदीदेशका राजा उपरिचर वसु शिकार खेल्न जंगलमा गएका थिए । विविध प्राकृतिक वातावरण र चरम कामचिन्तनको वेगले गर्दा उनमा एकाएक कमोद्दीपभाव जागृत भएर आयो । अनि उनले आफ्नो वीर्य खेर नजाओस् भनी पुत्रप्राप्तिको भावले त्यो वीर्यलाई मन्त्रणा गरी पातमा पोको पारेर वाज पंक्षीमार्फत रानीलाई दिन भनी पठाए । उड्दै जाँदा अर्को वाजले आकासमै झम्टिएकाले त्यो पोका नदीमा खस्यो । स्वर्गकी आद्रिका नामकी अप्सरा ऋषिको श्रापले त्यसै नदीमा माछी भएर घुमिरहेकी थिइन् । तिनै माछीले त्यो विर्य खाइन् र गर्भवती भएकी थिइन् । पछि दासराज माझीले त्यो माछीलाई जालमा पारेर ल्याई चिरेर हेर्दा जुम्ल्याहा कुमार कुमारी शिशु पैदा भए । प्रसंगवस कुमार चाहिँ तिनै राजा उपरिचर वसुले पालेका थिए र कन्या चाहिँ माझीले पालेका थिए । तिनै नै सत्यवती थिइन् । यो चेदीदेश अहिले अपभ्रंस भई चुदी नामले प्रशिद्ध छ । जुन अहिले आदिकवि भानुभक्तको गाउँ हो । व्यासभूमि दमौलीबाट करिव दश बाह्र किलोमिटर उत्तरपूर्वतर्फ यो स्थान रहेको छ ।


यमुना नदी :
व्यास र सत्यवतीको सन्दर्भमा यमुना नदीको प्रसङ्ग पनि आउँछ । पाणिनी व्याकरणका अनुसार यम उपरमे धातुबाट उनन् प्रत्यय भएर यमुना शव्द व्युत्पन्न हुन्छ । यसको अर्थ हुन्छ – दानी, उदार । यहाँ माद्री (मादी) नदी शुक्ला (सेती) नदीमा मिरिएपछि मादी नदीले आफ्नो नाम र रुप हराई उदारतापूर्वक यसपछि तल सेती नामले बगेकीले मादी नदीलाई यमुना शव्दले सम्वोधन गर्न मिल्छ भनिएको पाइन्छ ।

अर्को प्रसङ्ग स्वच्छ हुँदा नीलो र कालो देखिने नदीलाई यमुना र कञ्चन सफा भएर बग्ने नदीलाई गंगा भन्न मिल्ने देखिन्छ । किनकि रामायणको प्रसङ्गमा भरत श्रीरामलाई चित्रकुटमा भेट्न भनी जाँदा हाल गंगा र यमुना भनिने नदीको संगम भएको स्थान प्रयागमा पुगेर आश्चर्यसाथ दुई नदीको संगमलाई हेरिरहे भनी तुलसीकृत रामायणमा यसरी भनिएको छ । “देखत श्यामल धवल हलोरे” कालो र सेतो नदी देखेर आश्चर्यमा परे । त्यस्तै त्यही अर्को दोहामा भनिएको छ “सविधि सितासित नीर नहाने” विधिपूर्वक कालो र सेतो नदीमा नुहाए । यहाँ कालो नीलो भएर बग्नेलाई यमुना र कञ्चन सफा भएर बग्नेलाई गंगा नदी भनिएको छ । यसरी हेर्दा अर्थ फरक नपर्ने हुनाले संस्कृत श्लोकमा छन्द भंग नहोस् भनी मादी नदीलाई यमुना भनिएको हुनुपर्छ ।
निष्कर्षमा के आउछ भने सृष्टि भए यता देवी भागवत र शिवपुराणका अनुसार हालसम्म अठ्ठाइस पटक व्यासको अवतार भइसक्यो । सत्ताइस अवतारहरु पृथ्वीका विभिन्न भूखण्डमा भए । हाम्रै नेपालको पश्चिमतिर व्यासको नामबाट स्थानको नाम भएको पाइएकोले कुनै न कुनै व्यासको सन्दर्भ त्यहाँ पनि भएको हुनुपर्छ । तर अठ्ठाइसौं व्यास चाहिँ दमौलीमा भएको कुरालाई पुष्टि गर्ने सन्दर्भ र पौराणिक प्रमाणहरु प्रशस्त मिल्न आउने पाइएका छन् ।

(• न्यौपाने व्यासका अध्येता हुन्। )


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button