प्रहार समाचार । काठमाडौँ, ३ कात्तिक २०८२ सोमवार । नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूका लागि हवाई भाडामा उल्लेखनीय छुट दिने निर्णय गरेको छ। हवाई यात्रालाई समावेशी र पहुँचयोग्य बनाउने उद्देश्यले प्राधिकरणले उक्त निर्णय गरेको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र सदस्य वायुसेवाका प्रतिनधिबीच भएको बैठकले यस्तो सहमति गरेको हो ।

निर्णय अनुसार, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले अधिकतम भाडादरमा ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, ७५ वर्ष नाघेका यात्रुले ७० प्रतिशत र ८० वर्ष पार गरेका यात्रुले ८० प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको छ।
फरक क्षमता भएका यात्रुहरूका लागि पनि न्यूनतम ५० प्रतिशत छुट अनिवार्य गरिएको छ। यस निर्णयसँगै हवाई यात्रा सबैका लागि सहज, सुलभ र समावेशी हुने विश्वास गरिएको छ।प्राधिकरणले सहमतिअनुसारको नयाँ छुट दर आइतबार (२०८२ कात्तिक २ गतेदेखि नै लागू गर्न सबै आन्तरिक वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।
यो कदमले सामाजिक उत्तरदायित्वप्रति सरकार र वायुसेवा कम्पनीहरूको प्रतिबद्धता झल्काउने जनाइएको छ। हेरौं प्राधिकरणको विज्ञप्ती:




























