प्रहार समाचार । तनहुँ, २ कात्तिक २०८२ आइतवार । तनहुँ उद्योग वाणिज्य संघले थर्पु बजार इकाई म्याग्दे उद्योग वाणिज्य संघमा गाभिएको भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्पष्टिकरण दिएको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै तनहुँ जिल्लाभरिका उद्यमी व्यवसायीहरूको साझा संस्था भएको स्मरण गराउँदै थर्पु बजार इकाई हालसम्म पनि तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गत नै क्रियाशील रहेको स्पष्ट पारेको छ।
तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गत हाल सात वटा बजार इकाइ र एक महिला उद्यमी विकास समिति क्रियाशील छन्। तीमध्ये म्याग्दे गाउँपालिका अन्तर्गत रहेको थर्पु बजार इकाइ पनि संघकै आधिकारिक समिति भएको विज्ञप्तिमा उल्लेख छ ।
हालै ‘म्याग्दे उद्योग वाणिज्य संघ’ नामक अर्को संस्था गठन भई थर्पु इकाइलाई त्यसमा गाभिएको भन्ने आशयका समाचार सार्वजनिक भएपछि संघले यस्तो भ्रममा नपर्न सबै उद्योगी व्यवसायीहरूलाई अनुरोध गरेको हो।
संघका महासचिव सुबोध अधिकारी र सचिव शिवओम मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा थर्पु इकाइ अन्य कुनै स्वघोषित संस्थासँग नगाभिएको पुनः पुष्टी गर्दै सम्बन्धित सबैलाई तथ्य बुझी मात्र प्रतिक्रिया दिन अपिल गरिएको छ।



























