प्रहार समाचार । काठमाडौँ, २ कात्तिक २०८२ आइतवार । यमराजका दूतका रूपमा मानिने कागलाई सम्मान गर्दै आज काग तिहार मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्वमा कागलाई पूजा गरी मीठो परिकार विशेषगरी दहीभात खुवाउने परम्परा छ। कागले यमराज समक्ष शुभ सन्देश लैजाओस् भन्ने कामनासहित यो दिन कागलाई खुसी पारिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्योदयकालमै त्रयोदशी तिथि परेकाले शास्त्रीय विधिअनुसार यही दिन काग तिहार परेको हो। शास्त्रमा कागलाई यमदूतको रूपमा मानिन्छ र उसलाई सम्मान गरे यमराज प्रसन्न हुने विश्वास गरिन्छ। काग घरमा कराएमा शुभ सन्देश आउने जनविश्वास पनि छ।
यस अवसरमा कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा हुने गरिएको छ। शनिबार साँझदेखि नै यमपञ्चक सुरु भइसकेको छ भने धनतेरस पर्व पनि शनिबार नै मनाइएको थियो। तिहारको सुरुवात काग तिहारसँगै औपचारिक रूपमा भएको छ।




























