प्रहार समाचार । काठमाडौँ, २ कात्तिक २०८२ आइतवार । तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेका राष्ट्रिय क्रिकेट टोलीका चर्चित बलर सोमपाल कामीले टोलीमा आफ्नो छनोटपछि एक भावुक प्रतिक्रिया दिएका छन्। ‘तीन-तीन वटा विश्वकप…! अझै पनि यो कुरा भन्न अविश्वसनीय लाग्छ’ – उनले भने।

विश्वकपसम्मको यो यात्रा गुरु, भगवानको आशीर्वाद, परिवार, साथी, प्रशिक्षक र सहखेलाडीको साथले सम्भव भएको उनले बताए । देशका लागि फेरि खेल्ने अवसर पाएकोमा उनी गर्वित छन्। “तपाईंहरूको समर्थन र शुभकामना बिना यो सम्भव हुने थिएन। हरेकपटक यो जर्सी लगाउँदा देशलाई गर्व दिलाउने चाहना मभित्र बल्छ,” उनले समर्थकहरूप्रति कृतज्ञता व्यक्त गरे।

विश्वकपको लागि टिम नेपालमा सोमपालको निरन्तर उपस्थितिले उनी नेपाली क्रिकेटका एक अविभाज्य हिस्सा बनिसकेको स्पष्ट देखिन्छ। अनुभवी खेलाडीका रूपमा टोलीमा उनको भूमिका अझै महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।




























