प्रहार समाचार । रुपन्देही, १ कार्तिक २०८२ शनिवार । बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक विपत्ति र जलवायु संकटसँग जुध्न सांस्कृतिक सम्पदाको उपयोग गर्न सकिने निष्कर्ष निकालेको छ। सम्मेलनमा ६७ देशका करिब ३०० प्रतिनिधिहरू सहभागी भएका थिए ।

इकोमस नेपालको आयोजनामा भएको सम्मेलनमा प्राचीन तिलौराकोट दरबार क्षेत्रको अवलोकनसहित “शान्ति वक्तव्य” जारी गर्दै सम्पदाले शान्ति पुनःस्थापनामा बलियो भूमिका खेल्ने उल्लेख गरिएको छ। सहभागीहरूले सम्पदा स्थानीय आर्थिक दिगोपनाको आधार र सामाजिक सहअस्तित्वको संवाहक भएको धारणा राखे ।
सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव, युद्धपछिको पुनर्निर्माण, र सम्पदा संरक्षणका १९० कार्यपत्र प्रस्तुत गरिए। इकोमस इन्टरनेशनल, लुम्बिनी विकास कोष, युनेस्कोका विज्ञ, नीति निर्माता र अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको सम्मेलनले व्यवहारिक प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाए।

इकोमसको ६०औँ वार्षिकोत्सवसँगै आयोजना गरिएको यो सम्मेलन आइतबार काठमाडौंमा समापन हुनेछ, जहाँ औपचारिक निष्कर्ष सार्वजनिक गरिनेछ।




























