हेडलाईनसमाचारप्रदेश

वैकल्पिक नेतृत्वका लागि पार्टी खोल्दै मिराज ढुंगाना : पार्टीको नाम के हुने भयो ?

प्रहार समाचार । काठमाडौँ, १ कात्तिक २०८२ शनिवार । जेन–जी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनले वैकल्पिक राजनीतिक सोच र सांगठानिक नेतृत्व निर्माणका लागि पार्टी खोल्न लागिएको जानकारी दिए। ढुंगानाले भने, “पार्टी गठनको उद्देश्य निर्वाचनमा भाग लिनु मात्र होइन, युवालाई संगठित गर्दै स्पष्ट दिशा दिनु हो।’

ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था आफ्नो दलको ‘बटमलाइन’ मुद्दा हुने बताए। “यो हाम्रो मूल एजेन्डा हो, यो सुनिश्चित नभएसम्म हामी कुनै पनि निर्वाचनमा सहभागी हुने छैनौं,” उनले स्पष्ट पारे। उनको भनाइमा वर्तमान राजनीतिक प्रणालीले जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न नसकेको र त्यसैले वैकल्पिक आवाज आवश्यक भएको हो।

उनले सक्रिय युवा पुस्ता (जेन–जी) छरिएर हुलमुलमा नबसून् भन्ने उद्देश्यले दल गठन गर्न लागिएको उल्लेख गरे। “देश विकासका लागि भीड भएर हुँदैन, आधिकारिक बन्नुपर्छ। त्यो हैसियत या त एनजीओमार्फत आउँछ, या त राजनीतिक दलमार्फत,” ढुंगानाले भने।

नयाँ दलको नामबारे भने अझै टुंगो लागेको छैन। उनले सबै सरोकारवालासँग छलफल गरेर मात्र नाम सार्वजनिक गरिने बताए। ढुंगानाको नेतृत्वमा बन्ने नयाँ दलले वैकल्पिक राजनीतिक चेतना निर्माण गर्ने लक्ष्य लिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button