
‘शरीर चलाउने हो टाउकोले, पुच्छरले होइन। त्यस्तै, समाज चलाउने हो विवेकले, आवेगले होइन। तर आज विवेकलाई छायामा राखेर इन्द्रियहरूको तृष्णाले समाजलाई नचाइरहेको देखिन्छ। जब आँखाले सीमा भुल्छ, कानले विवेक हराउँछ, र जिब्रोले मर्यादा पार गर्छ — त्यहीँबाट असन्तुलन सुरु हुन्छ।’ भन्दै चन्द्र भण्डारी लेख्छन् :
समाज, संस्कृति, र सम्बन्ध—यी सबैलाई सन्तुलन आवश्यक पर्छ। जब त्यो सन्तुलन भत्किन्छ, समस्या सुरु हुन्छ। अहिलेको समयलाई नियाल्दा, लाग्छ कि केही कुरा उल्टो दिशामा हिँडिरहेका छन्। सोच्ने टाउको हुनु पर्नेमा चल्ने पुच्छरले सोच्न थालेको छ। टाउको विवेकको प्रतीक हो, र पुच्छर आवेगको। तर आज विवेक होइन, आवेग हाबी भइरहेको छ — यही हो मूल समस्या।
जब सम्बन्धलाई स्वार्थले नियन्त्रण गर्न थालिन्छ, तब साँचो माया, सम्मान, र आपसी समझदारी हराउँदै जान्छ। हामीले देख्दै आएको सामाजिक संरचना, परिवारको एकता, र समुदायको सद्भाव खस्कन थाल्छ। यो केवल व्यक्तिगत समस्याको कुरा होइन — यसको प्रभाव व्यापक हुन्छ, राष्ट्रकै मूल आधार हल्लिन सक्छ।
शरीर चलाउने हो टाउकोले, पुच्छरले होइन। त्यस्तै, समाज चलाउने हो विवेकले, आवेगले होइन। तर आज विवेकलाई छायामा राखेर इन्द्रियहरूको तृष्णाले समाजलाई नचाइरहेको देखिन्छ। जब आँखाले सीमा भुल्छ, कानले विवेक हराउँछ, र जिब्रोले मर्यादा पार गर्छ — त्यहीँबाट असन्तुलन सुरु हुन्छ।
स्वतन्त्रता राम्रो कुरा हो, तर नियन्त्रणबिनाको स्वतन्त्रता अन्ततः उन्मादमा परिणत हुन्छ। आत्मसंयम नहुनु नै आजका धेरै समस्याहरूको मूल कारण हो। हामीले सामाजिक र पारिवारिक सम्बन्धहरूलाई केवल स्वार्थको चस्माबाट हेर्न थालेका छौं। यो प्रवृत्तिले सामाजिक सद्भाव नष्ट गरिरहेको छ, मानवीय मूल्यहरू र संस्कारहरू कमजोर बनाइरहेको छ।
हाम्रो सम्बन्ध केवल निजी हैन, सामाजिक पनि हो। त्यसैले, कुनै सम्बन्धमा समस्या आयो भन्दैमा तत्काल टुटाउने निर्णय गर्नु हुँदैन। सम्बन्धहरू तोड्दा, केवल दुई व्यक्ति टुट्दैनन् — त्यसले समाजको संरचनामा पनि दरार ल्याउँछ ।
आजको प्रमुख समस्या यही हो — जब इन्द्रियहरूले टाउकोलाई जित्न थाल्छन्, विवेक हार्छ र आवेग जित्छ। त्यसले हामीलाई अस्तव्यस्तता तिर धकेल्दै लगिरहेको छ। समाजमा देखिएको नैतिक क्षय, विभाजन, र द्वन्द्वको मूल कारण पनि यही उल्टोपन हो।
त्यसैले अब हामीले आत्मचिन्तन गर्नु आवश्यक छ। विवेकलाई पुनः प्राथमिकता दिनुपर्छ। स्वार्थभन्दा माथि उठेर सम्बन्ध र समाजका मूल्यहरू जोगाउनु पर्छ। पुच्छर होइन, टाउकोले सोच्न थालोस् — यही बाटो हो समस्याबाट समाधानतिर जाने।
(लेखक भण्डारी नेपाली कांग्रेसका नेता हुन् । उनको यो बिचार सामाजिक संञ्जाल फेसबुकबाट सम्पादन गरेर हामीले प्रकाशित गरेका हौँ । सम्पादक)



























