प्रहार समाचार । काठमाडौँ, १ कात्तिक २०८२ शनिवार । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। । शीतल निवासमा आज अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र सुरक्षा प्रमुखहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले सुरक्षा निकायहरूलाई साहसी ढंगले प्रस्तुत हुन र आम नागरिक तथा राजनीतिक दलहरूमा विश्वास दिलाउने वातावरण बनाउन समेत आग्रह गरे ।
राष्ट्रपति पौडेलले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरू थप सक्रिय र सतर्क रहनुपर्नेमा जोड दिंदै भदौ २४ गते लुटिएका हतियार र फरार कैदीबन्दीहरूलाई यथाशीघ्र नियन्त्रणमा लिन पनि निर्देशन समेत दिए । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउने जिम्मेवारीमा कुनै कमजोरी हुन नहुनेमा समेत उनले आग्रह गरे ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्कीकार्कीले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै, सुरक्षा निकायहरूलाई आवश्यक सम्पूर्ण साधन र स्रोत सरकारले उपलब्ध गराउने बताएकी थिइन्। सुरक्षा निकायका प्रमुखहरूले विगतका चुनौतीपूर्ण परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको अनुभव प्रस्तुत गर्दै, हालको निर्वाचनका लागि आफूहरू पूर्णरूपमा तयार रहेको विश्वास दिलाएका थिए ।
छलफलमा प्रधानमन्त्री कार्कीसहित अन्तरिम सरकारका मन्त्रीहरू, प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायतको उपस्थिति थियो।



























