हेडलाईनसमाचारप्रदेश

गृहमन्त्रीसङ्ग अभियन्ता सुनारको माग : ‘प्रतिनिधित्व मात्र होइन, न्याय पनि चाहिन्छ’

प्रहार समाचार । काठमाडौं, १ कात्तिक २०८२ शनिवार । दलित समुदायको हक–अधिकार र न्याय सुनिश्चित गर्न दलित अभियन्ता खगेन्द्र सुनारले गृहमन्त्री ओम प्रकाश अर्यालसँग भेट गरी चारवटा मुख्य माग राखेका छन्।

भेटका क्रममा सुनारले आगामी निर्वाचनमा दलित समुदायको १३ प्रतिशत प्रत्यक्ष र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने कानुनी व्यवस्था तत्काल गर्नुपर्ने माग राखेका छन्। उनले नेपालको कुल जनसंख्याको आधारमा दलित समुदायको राजनीतिक उपस्थितिलाई सुनिश्चित गर्नु लोकतन्त्रको आधारभूत आवश्यकताको रूपमा प्रस्तुत गरे।

यस्तै, सुनारले विगतमा हत्या र बलात्कारका घटनामा परेका दलितहरूका लागि गरिएका सम्झौताहरू अझै कार्यान्वयन नहुँदा पीडितहरू न्यायबाट बञ्चित भइरहेको बताउँदै, ती सम्झौता तत्काल कार्यान्वयनमा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सुनारले प्रहरी प्रशासनभित्र रहेको दलित सेललाई थप प्रभावकारी बनाउन समेत आग्रह गरे। “सेल त बनाइयो, तर पीडितले सेवाबाट लाभ लिएका छैनन्,” सुनारले गुनासो गरे। उनले संविधानले सुनिश्चित गरेका दलित समुदायका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेकोप्रति सरकार गम्भीर नबनेको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार, दलित समुदायका विषयमा नीति त बनाइन्छ, तर तिनको कार्यान्वयनमा राजनीतिक इच्छाशक्तिको खडेरी छ।

अन्त्यमा, सुनारले दलित समुदायमाथि हुने विभेद, हिंसा र बहिष्करण अन्त्य गर्न सरकारले स्पष्ट दृष्टिकोणसहित योजनाबद्ध ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button