प्रहार समाचार । काठमाडौं, ३१ असोज २०८२ शुक्रवार । जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको आगजनीका कारण जलेर नष्ट भएका उत्तरपुस्तिकाका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) ले पुनः परीक्षा सञ्चालन गर्ने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले आज जारी गरेको सूचनामा डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहका स्थगित तथा जलेका परीक्षाहरू मंसिरमा सञ्चालन हुने जानकारी दिएको छ। आन्दोलनका क्रममा परीक्षा केन्द्र र प्रहरी कार्यालयहरूमा सुरक्षित राखिएका उत्तरपुस्तिका समेत आगजनीमा परेर नष्ट भएका थिए।
परीक्षा समितिको असोज १० गतेको निर्णयअनुसार स्थगित परीक्षा मंसिर ३० गतेदेखि सुरु हुने छन् भने जलेर नष्ट भएका उत्तरपुस्तिकाका विद्यार्थीहरूको पुनः परीक्षा मंसिर ४ गतेदेखि सञ्चालन हुने परिषद्ले जनाएको छ। सबै परीक्षा बिहान ७ बजेदेखि सुरु हुनेछन्।
परीक्षा नियन्त्रण कार्यालयले नष्ट भएका उत्तरपुस्तिकाहरूको विस्तृत विवरण यसअघि नै प्रकाशित गरिसकेको छ। साथै, विस्तृत परीक्षा तालिका परिषद्को आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ। परिषद्ले प्रभावित विद्यार्थीहरूलाई निर्धारण गरिएको तालिकाअनुसार अनिवार्य रूपमा पुनः परीक्षा दिन आह्वान गरेको छ।



























