
‘कांग्रेसका ‘आत्मा’ मानिने बी.पी. कोइरालाको विचार र मूल्य वर्तमान नेतृत्व र संगठनमा प्रतिबिम्बित छैन। पार्टी नेतृत्वले ती मूल्य आत्मसात् गर्न आवश्यक ठानेको देखिँदैन। त्यसैले कांग्रेस आज अस्पतालको शैयामा अन्तिम सास गन्दैछ। पार्टी परित्याग गर्ने लहरले निरन्तरता पाइरहेको छ।’ भन्दै ✍️ – प्राध्यापक महाप्रसाद हड्खले लेख्छन् –
२०७८ साल मंसिर १४ गते सम्पन्न १४औं महाधिवेशनमा नेपाली कांग्रेसका ४,७४३ जना प्रतिनिधिहरूले ‘जसरी पनि जित्ने र पद कब्जा गर्ने’ मानसिकता प्रदर्शन गरे। पार्टीको नीतिबारे बहस नगरी नेतृत्व चयन गरिएको त्यो प्रक्रिया तत्कालीन विश्लेषकहरूले ‘लाजमर्दो’ संज्ञा दिएका थिए।
त्यही नीतिविहीन नेतृत्वले न केवल कांग्रेस, सिंगो देशलाई नै खाडलमा पुर्यायो भन्ने कुरा आज जगजाहेर भइसकेको छ। विडम्बना, कांग्रेसका ती महाधिवेशन प्रतिनिधिहरूमा न त आत्मसमीक्षा गर्ने चेत देखिन्छ, न नै कुनै आँट।
आजको अवस्थामा, पार्टी निर्माण र विकासका मेरुदण्ड मानिएका प्रतिनिधिहरू ‘दाइ’ को छायाबाट डराइरहेका देखिन्छन्। नेतृत्वले इतिहासका पानामा मात्र आफूलाई सीमित राखे पनि वर्तमान र भविष्यको मूल्याङ्कन गर्न सक्ने आँट गरेनन्। श्रमिक, किसान, युवा, विद्यार्थी र बुद्धिजीवी वर्ग मात्र होइन, तिनका सन्तानहरू पनि कांग्रेससँग असन्तुष्ट छन्। केही निर्वाचनदेखि त कांग्रेसकै सन्तानहरूले पार्टीलाई भोट हाल्न छोडेका छन्।

विशेषवरुपमा, कांग्रेसका ‘आत्मा’ मानिने बी.पी. कोइरालाको विचार र मूल्य वर्तमान नेतृत्व र संगठनमा प्रतिबिम्बित छैन। पार्टी नेतृत्वले ती मूल्य आत्मसात् गर्न आवश्यक ठानेको देखिँदैन। त्यसैले कांग्रेस आज अस्पतालको शैयामा अन्तिम सास गन्दैछ। पार्टी परित्याग गर्ने लहरले निरन्तरता पाइरहेको छ।
अनेकौं पदमा पुगेका नेता—राष्ट्रप्रमुखदेखि सांसदसम्म—प्रायः पार्टी, देश र जनताप्रति जवाफदेही छैनन्। उनीहरू समाजवादी आदर्शभन्दा ‘स्वार्थी व्यवस्था’मा रमाइरहेका छन्। नेतृत्व आफैँ पार्टीको बोझ र धमिरा बनेको अवस्था छ।
🎯 चार वर्षको परिणाम :
✍️ भ्रष्टाचारमा चुर्लुम्म नेतृत्व
✍️ आफ्ना नाता र चम्चालाई पद बाँडफाँड
✍️ कांग्रेस कहिले प्रचण्डको वैशाखी, कहिले ओलीको लौरो
✍️ जवाफदेहिता शून्य, ‘दाइ’ हरूको प्रलय
✍️ निर्वाचनमा घात प्रतिघात गर्नेहरूलाई पुरस्कार
✍️शिक्षा, स्वास्थ्य, न्याय, पूर्वाधार सबै क्षेत्रमा अराजकता
✍️ विदेश नीति ढुलमुले, कानुनी शासनको धज्जी
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन कांग्रेससहित सम्पूर्ण दलका लागि गहिरो सन्देश हो। दलहरूले अब रूपान्तरण नगरे अस्तित्व समाप्त हुनेछ।

कांग्रेसले अब विशेष वा नियमित महाधिवेशन बोलाएर नीतिहरूमा बहस गर्नुपर्छ। अतीतका गल्तीबारे आम जनतासमक्ष माफी माग्नुपर्छ। निष्ठावान, योग्य, निष्कलङ्क कार्यकर्ताहरूको मूल्याङ्कन गरेर उनीहरूलाई संरचनागत रूपमा अघि ल्याउनु आवश्यक छ।
भूतपूर्व सुधार अभियान—गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, सुनिल शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल आदिको—लाई हाँसोमा उडाएर कांग्रेसले बहुमूल्य समय गुमायो। पार्टी सुधार्न होइन ‘उधार्न’ तिर लागियो। ‘दाइ’ को साख गुम्छ कि भनेर भ्रष्ट अगुवाहरू सुधारवादी युवालाई ‘अर्घेलो’ बनाइयो।
महामन्त्रीहरूले टेबल गरेका अनेक सुधार प्रस्तावहरूलाई ‘भाउजु’को कोपभाजनमा पर्ने डरले समर्थन गरिएन। कांग्रेसको नीतिविहीन अवस्थाले समाजमा आक्रोश, हिंसा, बदला र तिरस्कार बढायो। त्यसकै परिणामस्वरूप जन्मियो—जेनजी आन्दोलन।
अब कांग्रेसले आफ्नो आन्तरिक लोकतन्त्र सुदृढ नगरे, युवाहरूलाई पार्टीमा स्पेस नदिए, निष्ठावान कार्यकर्तालाई संरक्षण नगरे—बचेका थोरै सज्जन पनि पार्टीबाट टाढिनेछन्।
त्यसैले पार्टी चलाउनेहरूले अब ‘बुद्धि’ पनि चलाउनु जरुरी छ।
आजको कांग्रेस शिकार ढुकेर बस्ने अङ्गुलीमालहरूको संगठन बनेको छ। एकले अर्कोलाई खुइल्याउने, सिध्याउने गुटबन्दीको राजनीति प्रचण्ड भएको छ।
( • हड्खले तनहुँको शिक्षाक्षेत्रमा लामो समयदेखि क्रियाशिल सम- सामयिक विषयमा आफ्ना विचारहरू खरो रूपमा राख्ने प्राध्यापक हुन्।) – सम्पादक



























