प्रहार समाचार । काठमाडौं, ७ चैत २०८३ सोमबार । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संरचना पुनर्संरचना गर्ने उद्देश्यसहित नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै प्रदेश सरकारसँग राय–सुझाव माग गरेको छ। गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेरदेखि स्थानीय तह गाभ्ने र नगरपालिकाको वर्गीकरण पुनरावलोकन गर्ने विषयलाई व्यवस्थित गर्न उक्त मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का दफा ३, ५, ६, ७ र ८ मा भएको व्यवस्थालाई आधार मानेर तयार गरिएको “गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३” सम्बन्धी प्रारम्भिक दस्तावेजमा सरोकारवालाको धारणा संकलन गर्न खोजिएको हो। मन्त्रालयका अनुसार विभिन्न चरणका छलफलपछि तयार पारिएको मस्यौदामा प्रशासनिक सहजता, सेवा प्रवाहको प्रभावकारिता र भौगोलिक–जनसांख्यिक अवस्थालाई केन्द्रमा राखिएको छ।

मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै ३ दिनभित्र इमेलमार्फत सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। प्राप्त सुझावका आधारमा मापदण्डलाई अन्तिम रूप दिई स्थानीय तह पुनर्संरचनाको प्रक्रिया अघि बढाइने जनाइएको छ। साथै, सूचना प्रविधि शाखालाई उक्त मस्यौदा सम्बन्धित निकायसम्म इमेलमार्फत पठाएर जानकारी गराउन निर्देशनसमेत दिइएको छ।



























