प्रहार समाचार । तनहुँ, ७ बैशाख २०८३ सोमबार । अदालतले जरिवाना तोकेर फरार रहेका अभियुक्तविरुद्ध तनहुँ प्रहरीले सक्रियता बढाउँदै एकै दिन १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले आज उनीहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको हो।

पक्राउ परेकामध्ये सबैभन्दा बढी चेक अनादर मुद्दाका ६ जना रहेका छन्। यस्तै, जालसाजी मुद्दाका १, सरकारी छाप किर्ते मुद्दाका १, सार्वजनिक अपराधका १, गाली बेइज्जतीका १, सम्बन्ध विच्छेदका १ तथा हाडनाता करणी मुद्दाका १ जना अभियुक्त रहेको प्रहरीले जनाएको छ। विभिन्न मुद्दामा अदालतले जरिवाना तोके पनि उनीहरू लामो समयदेखि फरार रहँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं डीएसपी श्रवणकुमार विकका अनुसार पक्राउ परेका सबै अभियुक्तलाई लगत कट्टा प्रक्रियाका लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको छ। उनले फरार अभियुक्तको खोजी कार्यलाई अझ प्रभावकारी बनाउँदै कानुनी कारबाहीको दायरामा ल्याउने अभियान निरन्तर रहने स्पष्ट पारे।



























