हेडलाईनव्याससमाचारगण्डकी

लोकतन्त्रका निष्ठावान् योद्धा तनहुँका अधिकारीको निधन

प्रहार समाचार । तनहुँ, ८ बैशाख २०८३ मंगलबार । तनहुँको लोकतान्त्रिक आन्दोलनमा लामो समय सक्रिय रहँदै आएका प्रजातन्त्रका सेनानी खडगबहादुर अधिकारीको ८७ वर्षको उमेरमा निधन भएको छ। गए राति १ः२७ बजे दमौली अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय सूर्यभक्त अधिकारी र गोबर्धन शर्माबाट राजनीतिक प्रशिक्षण लिई प्रजातान्त्रिक आन्दोलनमा होमिएका अधिकारी पछिल्लो समय विभिन्न रोगबाट पीडित थिए।


लोकतन्त्र र सामाजिक न्यायप्रति सधैं प्रतिबद्ध अधिकारीले आफ्नो जीवन समाजसेवामै समर्पित गरेका थिए। लामो समय बाल कल्याण समिति तनहुँमा आबद्ध रही काम गरेका उनले विभिन्न शैक्षिक संस्थाको अध्यक्षता सम्हालेका थिए भने अन्य थुप्रै संघसंस्थामा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए। सार्वजनिक जीवनमा उनले पूर्व धरम्पानी गाउँपञ्चायतका सचिव, फराकचौर गाउँपञ्चायतका प्रधानपञ्च तथा व्यास नगरपालिका–१० का वडाअध्यक्षको जिम्मेवारी सम्हाल्दै जनताको सेवामा योगदान पुर्‍याएका थिए।


उनको निधनप्रति विभिन्न संघसंस्था तथा स्थानीय सरोकारवालाहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। अधिकारीको आजै मादी र सेती नदीको संगम नजिक रहेको दमौली घाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ। लोकतान्त्रिक आन्दोलन र सामाजिक सेवामा उनले पुर्‍याएको योगदानलाई स्थानीय समुदायले दीर्घकालसम्म स्मरण गर्ने विश्वास गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button