• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ८ बैशाख २०८३ मंगलबार । नेपाली समाजमा बढ्दो तडकभडक, सुनचाँदीको मोह र दाइजो प्रथाले जरा गाड्दै गएको सन्दर्भमा लमजुङको बेसीशहरमा एक जोडीले सादा र सन्देशमूलक विवाह गरेर उदाहरण प्रस्तुत गरेका छन्।

बेसीशहर नगरपालिका–९ पाखाथोककी गोमा अर्याल र चितवनका सागर राउतले कुनै पनि सुनका गरगहना तथा दाइजो बिना कुशको औंठी साटासाट गर्दै वैवाहिक बन्धनमा बाँधिएर ‘परिवर्तन एकबाटै सुरु हुन्छ’ भन्ने सन्देश दिएका हुन्।

बेसीशहर नगरपालिका–२ स्थित उदिपुर कालिका मन्दिरमा सोमबार सम्पन्न विवाहमा परम्परागत ढाँचालाई सरल बनाउँदै दुवै पक्षले महँगा गरगहना र लिनेदिने चलन त्यागेका थिए। गोमाका दाजु कुमार अर्यालका अनुसार समाजमा बढ्दो सुनको आकर्षण र दाइजो प्रथाले विशेषगरी निम्न तथा मध्यमवर्गीय परिवारमा आर्थिक बोझ थपिरहेको अवस्थामा यस्ता विकृति अन्त्य गर्ने उद्देश्यले यो निर्णय लिइएको हो।

नवदम्पतीले पनि सामाजिक दबाबभन्दा माथि उठ्दै सादगीपूर्ण र अर्थपूर्ण विवाह रोजेका हुन्।विवाहमा सहभागीहरूले यसलाई समाज परिवर्तनतर्फको सानो तर महत्वपूर्ण कदमका रूपमा लिएका छन्। उनीहरूका अनुसार यस्ता प्रयासले दाइजो प्रथा र तडकभडकयुक्त संस्कार घटाउन सहयोग पुग्नेछ भने आर्थिक रूपमा कमजोर परिवारलाई राहत दिनेछ। साथै, समानता, समझदारी र पारस्परिक सम्मानमा आधारित वैवाहिक संस्कारको विकासतर्फ यो उदाहरण प्रेरणादायी बन्ने विश्वास गरिएको छ।




























