हेडलाईनभानुसमाचारगण्डकीखेलकुद

तनहुँको भानु नगरस्तरिय मेयर/उपमेयर कप : वडा–३ फुटबल च्याम्पियन, वडा–७ भलिबलमा दबदबा

प्रहार समाचार । तनहुँ, ८ बैशाख २०८३ मंगलबार । तनहुँको भानु नगरपालिका स्तरिय तेस्रो मेयर/उपमेयर कप २०८२/८३ अन्तर्गत फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । फुटबल तर्फ वडा नम्बर ३ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको छ भने भलिबलतर्फ वडा नम्बर –७ ले आफ्नो प्रभुत्व कायम राख्दै च्याम्पियन बन्न सफल भएको छ।

बैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको उत्साह थप सशक्त बनाएको छ।भानु–२ स्थित गोठरी खेल मैदानमा सम्पन्न फुटबल फाइनलमा वडा–३ ले वडा–२ माथि १–० को सङ्घर्षपूर्ण जित निकाल्दै उपाधि कब्जा गरेको हो। दुवै टिमबीच कडा प्रतिस्पर्धा देखिएको खेलमा वडा–३ ले गरेको एकमात्र निर्णायक गोल नै उपाधि जित्ने आधार बन्यो। खेल अवधिभर रक्षात्मक तथा आक्रामक दुवै रणनीतिमा सन्तुलन कायम राख्दै वडा–३ ले उत्कृष्ट टिम समन्वय प्रदर्शन गरेको थियो ।

फाइनलसम्मको यात्रामा वडा–२ ले सेमिफाइनलमा वडा–११ लाई हराउँदै उपाधि भिडन्त सुनिश्चित गरेको थियो भने वडा–३ ले वडा–८ लाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको थियो। उपाधिसँगै वडा–३ ले नगद ९४ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। उपविजेता वडा–२ ले ५४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

व्यक्तिगत उत्कृष्टतर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधि वडा–२ का विशाल नेपालीले जिते भने सर्वाधिक गोलकर्ता वडा–११ का सुजन बस्नेत घोषित भए। उत्कृष्ट गोलरक्षकको अवार्ड वडा–३ का सरोज गुरुङले आफ्नो नाममा लेखाए।यसैगरी, भलिबलतर्फ वडा–७ ले फाइनलमा वडा–८ लाई सोझो दुई सेटमा पराजित गर्दै उपाधि जित्यो। सशक्त टिमवर्क र आक्रामक खेल शैली प्रस्तुत गरेको वडा–७ ले खेलको सुरुदेखि नै नियन्त्रण कायम राख्दै सहज जित निकालेको हो। विजेता वडा–७ ले २७ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता वडा–८ ले २० हजार रुपैयाँमा चित्त बुझायो। उत्कृष्ट खेलाडी सागर श्रेष्ठ घोषित भए भने बेस्ट स्पाइकरको उपाधि किस्मत श्रेष्ठले जिते ।

कार्यक्रममा बोल्दै भानु नगरपालिकाकी उप–प्रमुख उमा गोतामेले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्। उनले स्थानीय स्तरमा खेलाडी उत्पादन र खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

भानु नगर खेलकुद विकास समितिका संयोजक तथा वडा–३ का अध्यक्ष तुलकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत भानु–१० का वडा सदस्य तथा समितिका उपाध्यक्ष सन्तोष घलेले गरेका थिए। प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्नुका साथै समुदायस्तरमा खेलकुदप्रति आकर्षण बढाएको आयोजकले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button