प्रहार समाचार । काठमाडौं, ८ बैशाख २०८३ मंगलबार । सरकारले तीन तहका सबै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णय गरेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक आन्दोलन घोषणा गरेको छ। महासंघले उक्त निर्णयलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा खुला अर्थतन्त्रको मर्मविपरीत भन्दै यसअघि नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको भए पनि सरकार समाधानतर्फ गम्भीर नदेखिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ।

महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख ९ गतेदेखि नै प्रदेशस्तरमा मुख्यमन्त्रीसँग छलफल सुरु गरिनेछ भने वैशाख १० गते सबै जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेछन्। सोही दिन केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरिनेछ। साथै, वैशाख ११ गते देशभरका सञ्चारमाध्यमलाई सम्पादकीय ऐक्यबद्धतामार्फत विरोध जनाउन आह्वान गरिएको छ भने सामाजिक सञ्जालमार्फत पनि व्यापक अभियान सञ्चालन गरिनेछ।

आन्दोलनको दायरा थप विस्तार गर्दै महासंघले वैशाख १४ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग छलफल गर्ने र वैशाख १५ गते स्थानीय तहसम्म दबाब सिर्जना गर्ने कार्यक्रम तय गरेको छ। यसक्रममा गाउँपालिका तथा नगरपालिका महासंघमार्फत संघीय सरकारको निर्णय अवज्ञा गर्न आग्रह गरिनेछ। महासंघले आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।



























