प्रहार समाचार । क्वालालम्पुर, २१ असोज २०८२ मङ्गलवार । आयोजक मलेसियाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ६ विकेटको सानदार जित हात पार्दै पाँच खेलको शृंखला २–२ को बराबरीमा पुर्याएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन बनायो। मलेसियाका लागि मस एलिसा अविजित ५६ रनका साथ सबभन्दा सफल ब्याटर रहिन्। नेपाली बलर कविता कुँवरले १० रन खर्चिएर ३ विकेट लिँदै विपक्षीको सुरुवाती आक्रमणलाई कमजोर पारिन्।
जवाफमा नेपालले १७.३ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। कप्तान इन्दु वर्माले ३९ बलमा अविजित ४८ रनको संयमी तर प्रभावशाली इनिङ खेलेर टोलीलाई जितको नायक बनाइन्। साथै रुविना क्षेत्रीले २३ रनको योगदान दिइन्।
यस जितसँगै पाँच खेलको शृंखला अहिले २–२ को रोमाञ्चक अवस्थामा पुगेको छ। निर्णायक तथा अन्तिम खेल बुधबार हुनेछ, जसले विजेता टोली तय गर्नेछ।



























