
प्रहार समाचार । काठमाडौँ , १८ असोज २०८२ शनिवार । २३ गतेको दिन। देश भ्रस्टाचारविरुद्धको ज्वालामा बलिरहेको थियो।
मैले सुनेँ – “जेन्जी आन्दोलन” हुँदैछ।
म सामान्य नागरिक, सामान्य जीवन। तर सोचें –
“देशको भलोका लागि उठेको आन्दोलन हो भने म पनि हेर्नु पर्छ।”
त्यो सोचले मलाई बबरमहल तर्फ तानेको रहेछ।
भिड, नाराहरू, र आक्रोशको हावा…
मैले कहिल्यै त्यति ठूलो भीड नहेरेको मान्छे।
त्यसै बीच अचानक –
ड्याम्म!!!
भयङ्कर आवाज।
अगाडिका दुई भाइहरू ढलिरहे।
भीडमा कोलाहल मच्चियो।
त्यो बेलामै कसैले मलाई चिच्याउँदै भन्यो –
“बाजे! तपाईँलाई पनि गोली लाग्यो।”
मैले छाती छोएँ।
तातो… अनि रगतको बगाइ।
म बेहोस भएछु।
पछि थाहा पाएँ –
म मात्र होइन, अन्य घाइतेहरूसँगै मलाई पनि वीर अस्पताल लगिएको रहेछ।
डाक्टरहरूले छातीमा पाइप राखी उपचार गरे।
म ९ दिनसम्म ICU मा रहेँ।
जीवन र मरणको दोसाँधमा।
तर संसारमा विचित्र कुरा भयो –
म उपचार भइरहेकै बेलामा
सरकारले सार्वजनिक गरेको मृ*तक सूचीको १५ नम्बरमा मेरो नाम थियो।
म मरेको मान्छे!
मेरो आफन्तहरू रोइरहेका थिए – “हरिहर त मरेछ…”
तर जब उनीहरू अस्पताल आइपुगे –
मैले आँखा उघारेर हेर्दैथेँ, सास लिँदैथेँ।
त्यो बेला मात्र डाक्टरहरूले भने –
“रेकर्डमा सानो प्राविधिक त्रुटि भएछ।”
सच्याइयो सूची।
तर मेरो मनभित्र घाउ अझै बाँकी छ।
मसँग पैसा थिएन।
औषधि किन्ने पैसा जुटाउन आफन्तहरूले कति दुःख पाए।
सरकारले केही सहयोग गर्यो, तर पीडा र तनाव – मसँग अझै शब्द छैन।
मेरै अगाडि ढलेका भाइहरू सचमै मरे।
मैले त भाग्यको कारण मात्र बाँचें।
आज पनि त्यो क्षण सम्झँदा छाती पोल्छ।
म बाँचें, तर जिउँदो मरेको मान्छेझैँ महसुस गराएँ।
























