हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

बडा दशैँ २०८२ : नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा–आराधना गरिंदै

प्रहार समाचार । तनहुँ, १० असोज २०८२ शुक्रवार । नवरात्रको पाँचौं दिन आज देशभर वैदिक सनातन धर्मावलम्बीहरूले नवदुर्गामध्ये पाँचौं रूप स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरेका छन्। आश्विन शुक्ल पञ्चमीका दिन मनाइने स्कन्दमाताको पूजा शक्ति, ऐश्वर्य र सन्तान सुख प्रदान गर्ने विश्वास गरिएको छ। पूजा स्थलहरूमा भक्तजनहरू बिहानैदेखि पूजापाठ र दुर्गा स्तोत्र पाठमा जुटेका छन्।

यसअघि नवरात्रको पहिलो दिन असोज ६ गते घटस्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसपछि क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवीको पूजा–आराधना सम्पन्न गरिएको हो। आज स्कन्दमाताको पूजा भएसँगै भोलि छैटौं दिन कात्यायनी देवीको पूजा गरिनेछ।

नवरात्रभर पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने परम्परा रहेको छ। नवरात्रका नौ दिन दुर्गा सप्तशती, श्रीमद्देवी भागवत तथा अन्य देवी स्तोत्रहरूको पाठ गरिन्छ। दुर्गाका नौ रूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीलाई नवदुर्गा भनिन्छ, जसको आराधनासँगै नेपालीहरूले १५ दिनसम्म बडादशैँ पर्व श्रद्धापूर्वक मनाउने गर्छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button