हेडलाईनसमाचारगण्डकी

डा. गुरुङको १९औं स्मृति दिवस : लमजुङमा प्रवचन कार्यक्रम सम्पन्न

• बिजय अधिकारी ( संवाददाता ) लमजुङ, ९ असोज २०८२ बिहिवार । भूगोलविद् डा. हर्क गुरुङको १९औं स्मृतिमा लमजुङको सदरमुकाम बेसीशहरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ।

तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद्, जिल्ला शाखा लमजुङको आयोजनामा भएको कार्यक्रममा बोल्दै संविधानसभा सदस्य जमिन्द्रमान घलेले डा. गुरुङको राष्ट्रसेवा र शैक्षिक योगदानको स्मरण गर्दै उनको अध्ययन र मिहिनेतबाट सबैले प्रेरणा लिनुपर्ने बताए। उनले व्यक्तिको जागरुकता र राष्ट्रप्रेम शिक्षाबाट सुरु हुनेमा जोड दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, परिषदका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, सल्लाहकार प्रेम घलेलगायत वक्ताहरूले डा. गुरुङको जीवन, विचार र योगदानमाथि प्रकाश पारे। वक्ताहरूले डा. गुरुङले नेपाली भूगोल, योजना तथा विकास क्षेत्रमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै, नयाँ पुस्ताले उनको विचार र मूल्यलाई आत्मसात गर्नुपर्ने बताए।

उक्त अवसरमा सहभागीहरूले बेसीशहरस्थित तमु संग्रहालयमा रहेको डा. गुरुङको शालिकमा माल्यार्पणसमेत गरेका थिए। जिल्ला अध्यक्ष जिवराज घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खजेन्द्र गुरुङ लगायतले गुरुङको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सहजिकरण खेम गुरुङले गरेका थिए। डा. हर्क गुरुङ वि.सं. १९९५ पुस २१ गते लमजुङको तत्कालीन बाहुनडाँडा गाविस, नाइँचेस्थित मामाघरमा जन्मिएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button