प्रहार समाचार । तनहु, ९ असोज २०८२ बिहिवार । चाडपर्वको संघारमा परेको अविरल वर्षाले देशभर बाढीपहिरोको अवस्था सिर्जना गर्दै पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ को मुग्लिङ–नारायणघाट सडकखण्ड, सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवा खण्डमा कोशी राजमार्ग अवरुद्ध छ। पहिरोका कारण यी क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ।

यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने पासाङल्हामु राजमार्ग अन्तर्गत मितेरी पुल र रुकुमपूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा बन्द भएका छन्। लगातार पहिरो खसिरहँदा सडक खुलाउने कामसमेत चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार नवलपरासी पूर्वको पूर्व–पश्चिम राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र रसुवाको त्रिशुली–मैलुङ सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा छन्। अझै पनि पहिरो खस्ने जोखिम कायमै रहेकोले अत्यावश्यक बाहेकका यात्रा टार्न र यात्रा गर्नै परेमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।


























