प्रहार समाचार । काठमाडौँ, ८ असोज २०८२ बुधवार । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १ सय १४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज अध्यादेश जारी गरिएको हो। यससँगै आगामी निर्वाचनका लागि नयाँ मतदाता नामावली संकलनको कानुनी बाटो खुलेको छ।

२०८२ फागुन २१ गते आमनिर्वाचनको मिति घोषणा भएसँगै नयाँ मतदाता सूचीकृत गर्न कानुनी व्यवस्था आवश्यक ठानी सरकारले अध्यादेशमार्फत ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो। मन्त्रिपरिषद्बाट पारित अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरिएको थियो, जसलाई राष्ट्रपति पौडेलले अनुमोदन गरेका हुन्।
निर्वाचन आयोगले अब कार्ययोजना बनाएर नयाँ मतदाता नाम संकलन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार संकलन कहिलेदेखि सुरु गर्ने र कहिलेसम्म गर्ने भन्ने मिति कार्ययोजनामार्फत टुंगो लगाइनेछ। २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिकले सोही महिनाको २१ गते हुने निर्वाचनमा मतदान गर्न पाउनेछन्।


























