प्रहार समाचार । काठमाडौं, ७ असोज २०८२ मङ्गलवार । शिक्षामन्त्रीका रूपमा पदभार ग्रहण गरेका महावीर पुनले शिक्षा क्षेत्र सुधारका लागि तीन निर्णय सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको निर्णयअनुसार देशभरका सबै सामुदायिक माध्यमिक विद्यालयमा अनिवार्य रूपमा कम्प्युटर शिक्षकको दरबन्दी थपिनेछ। उद्देश्य, कुनै पनि विद्यार्थी डिजिटल शिक्षाबाट वञ्चित नहोस् भन्ने हो।

दोस्रो निर्णयमा, परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म समय लिने विश्वविद्यालयहरूको ढिलाइप्रति मन्त्री पुनले गम्भीर आपत्ति जनाएका छन्। अबदेखि कुनै पनि विश्वविद्यालयले तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्नुपर्नेछ। निर्धारित समयसीमाभित्र नतिजा प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनीसमेत उनले दिएका छन्।
तेस्रो निर्णयअन्तर्गत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा रहेको झाडी क्षेत्रलाई व्यवस्थित गरी हरियाली बगैँचा र पैदलमार्ग निर्माण गरिनेछ। पुनले वातावरण संरक्षणलाई ध्यान दिँदै ठूला रूख नकटाई सफा गर्ने योजना अघि सारेका छन्। उनका यी निर्णयहरूलाई प्रारम्भिक सुधारका प्रभावकारी संकेतका रूपमा लिइएको छ।


























