प्रहार समाचार । काठमाडौँ, ७ असोज २०८२ मङ्गलवार। चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढी हो।

हिजो सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ रहेको थियो। चाँदीको मूल्य समेत बढ्दै गएको देखिन्छ, जसअनुसार आज चाँदी प्रतितोला २ हजार ६ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा कारोबार भइरहेको छ। हाल सुनको मूल्य प्रतिऔंस ३ हजार ७ सय ४८ अमेरिकी डलर हाराहारीमा पुगेको छ, जसको असर नेपाली बजारमा प्रत्यक्ष देखिएको हो। चाडपर्वको समयमा सुनको मूल्य झनै चुलिने आँकलन गरिएको छ।


























