प्रहार समाचार । काठमाडौँ, ७ असोज २०८२ सोमवार । नव नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जगदीश खरेलले देशका प्रमुख सहरहरूमा पाँच महिनाभित्र फ्रि वाईफाई सेवा विस्तार गर्ने घोषणा गरेका छन्। मन्त्री खरेलले आफ्नो कार्यकालको सुरुआती निर्णयमार्फत जनसाधारणलाई प्रत्यक्ष रुपमा प्रविधिसँग जोड्ने प्रयास गर्ने बताएका छन्।

उनले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत यो निर्णय कार्यान्वयन गरिने स्पष्ट पारेका छन्। काठमाडौं उपत्यकामा आगामी दुई महिनाभित्र तथा सातै प्रदेशका राजधानी सहरहरूमा सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए।
‘सूचना र प्रविधिमार्फत सुशासन र विकासलाई गति दिने हाम्रो लक्ष्य हो,’ मन्त्री खरेलले भने, ‘फ्रि वाईफाईको विस्तारबाट डिजिटल पहुँच सबै नागरिकसम्म पुर्याउने अपेक्षा गरेका छौं।’ सरकारको यो पहलले विशेषगरी विद्यार्थी, श्रमिक र सार्वजनिक स्थल प्रयोगकर्तालाई सहजता दिने विश्वास गरिएको छ।

























