• बिजय अधिकारी (संवाददाता ) लमजुङ, ७ असोज २०८२ सोमवार । जिल्लाकै प्रतिष्ठित त्रिवेणी युवा क्लबको अध्यक्षमा टेकजङ गुरुङ निर्विरोध निर्वाचित भएका छन्। बेसीशहरमा सम्पन्न क्लबको १३औं अधिवेशनले सर्वसम्मत निर्णय गर्दै गुरुङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। क्लबको नेतृत्वमा नयाँ जोशसहित युवा पुस्ता आएका छन् ।

क्लबको उपाध्यक्षमा खुसीजङ गुरुङ र इन्द्रसुब्बा राना चयन भएका छन् भने कोषाध्यक्षमा केश बहादुर राना निर्विरोध चुनिएका छन्। त्यसैगरी, सदस्यहरुमा विकास अधिकारी, अच्युत पौडेल र गणेश गुरुङ निर्विरोध निर्वाचित भएका छन्। बाँकी सदस्यहरु क्लबको आगामी बैठकबाट चयन गरिने जानकारी निवर्तमान अध्यक्ष राजकुमार घिमिरेले दिए।
त्रिवेणी युवा क्लबले हरेक वर्ष जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशिको ‘त्रिवेणी कप’ फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यसका साथै, क्लबले सामाजिक सेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्दै लमजुङमा युवाहरुको सक्रियता र एकतामा टेवा पुर्याउँदै आएको छ।

























